सर्लाहीको बरहथवा नगरपालिका– ३ स्थित प्रतिटोल क्षेत्रमा चोरीको पिकअप गाडी प्रयोग गरी चोरी गर्दै गरेका एक युवक पक्राउ परेका छन्।
शुक्रबार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेपछि नजिकै रहेको मनोज सहनीको घरमा समेत चोरी गर्न खोजिरहेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला गरेकी थिइन्। स्थानीयको सहयोगमा प्रहरीले तत्काल घटनास्थलमा पुगेर एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका– ६ निवासी १८ वर्षीय जुमुन मियाँ रहेका छन्। प्रहरीले उनको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट ०८३ जेठ १९ गते हराएको गाडी रहेको खुलेको प्रहरीले जनाएको छ।
बरामद गाडी र हराएको गाडीको विवरण मेल खाएको तथा चोरीमा प्रयोग भएको आशंकामा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।