राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि सुरु भएको बैठक जारी छ। तर, बैठकका विषयमा पार्टीभित्रै विवाद देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत अनधिकृत ढंगले एकलौटी रूपमा केन्द्रीय समितिबाहिरका व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गरेको छ।
बैठकमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो। यस्तै, एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई पनि सहभागी गराइएको छ। केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यबाहेकका अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धतिविपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ। बैठकमा राप्रपा पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तीनैजना सहभागी छैनन्।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, सदस्य अर्जुन राई तथा पूर्वअध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबराले यस विषयमा अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए। उनीहरूले केन्द्रीय सदस्यबाहेक अरूलाई बैठकमा राख्न नहुने अडान राखेका थिए।
केन्द्रीय सदस्य जनकराज पाठकले आफूसहितका विधिको पक्षमा रहेका नेताहरूको आजको बैठकमा सहभागी नभएको बताए। पार्टीभित्रैका केही नेताहरूले केन्द्रीय सदस्य नै नरहेका व्यक्तिहरूलाई बैठकमा प्रवेश गराएर अध्यक्ष लिङ्देनको फेस सेभ गर्ने रणनीति लिएको टिप्पणी गरेका छन्।
गत निर्वाचनमा जुम्लाबाट ज्ञानेन्द्र शाहीले जित्नुबाहेक अन्य अधिकांश ठाउँमा राप्रपाका उम्मेदवारहरूको जमानत जफत भएको थियो। केन्द्रीय समितिमा आफ्नो आलोचना हुने डरले अध्यक्षले आफ्ना पक्षका मानिसहरू र चुनाव हारेका उम्मेदवारहरूलाई प्रयोग गरेर सुरक्षित हुन खोजेको असन्तुष्ट पक्षको आरोप छ।
यसैबिच, बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी महाधिवेशनको कार्यतालिका भने पारित गरेको थियो। जसअनुसार आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा राप्रपाको महाधिवेशन आयोजना गरिनेछ।