फरार अभियुक्त्त खोज्न भन्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको घरमा बिहीबार राति छापा मारेपछि मोरङ प्रहरी विवादमा आएको छ। चितवनबाट फरार भएका एकजना विमल भट्टराई भन्ने सांघातिक आक्रमणका अभियुक्त खोजी गर्ने क्रममा विराटनगर– १ पोखरियास्थित कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीको निवासमा राति छापा मारेपछि मोरङ प्रहरी विवादमा आएको हो ।
प्रदेशको गृह प्रशासनसमेत हेर्ने आन्तरिक मामिलामन्त्री पराजुलीको सचिवालयले सरकारी निवासमा मध्यराति विनाअनुमति प्रहरीले छापा मारेको भन्दै छानबिन गर्न माग गरेको छ । तर, मोरङ प्रहरीले भने फरार अभियुक्त खोज्ने क्रममा अनुसन्धान टोलीले मन्त्रीको निवास भनेर नचिन्दा र सूचना गलत हुँदा खोजतलासमा त्रुटि भएको जनाएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले घटना नियोजित नभएको र गलत सूचनाको कारण खोजतलासमा त्रुटि भएको बताए । उनका अनुसार राति ११ बजे पुगेको सादा पोसाकसहितको प्रहरी टोलीले मन्त्री निवासमा गार्ड पनि नभएको र झन्डा पनि नदेखिएकोले फरार अभियुक्त्त लुकेको आशंकामा टोलीले खोजतलास गरेको थियो। एसपी कटुवालले भने, ‘गलत सूचनाले गर्दा सामान्य घटना भएको हो नियतवश छापा मारिएको हाेइन, गलत हल्ला फैलिएको मात्र हो।’
बिहीबार राति एक्कासि एकजना कर्मचारी मात्र सुतिरहेको सरकारका मन्त्रीको घरभित्र प्रहरी पसेर खानतलास गरेपछि छिमेकीहरूले मन्त्री र सचिवालयलाई खबर गरेका थिए । बिहीबार मन्त्री कामकाजका लागि शंखुवासभा जिल्लामा पुगेका थिए । सरकारले मन्त्रीका लागि पहिले सुरक्षागार्डसमेत दिने गरेको भए पनि पछि हटाएपछि मन्त्री पराजुलीले दुईजना पिएसओ मात्र पाएका थिए । तीमध्ये एकजना बिदामा रहेको र एकजना मन्त्रीसँगै गएकोले निवासमा एकजना कर्मचारी मात्र रहेका थिए ।
मन्त्री पराजुलीले घटनाबारे जानकारी पाएको, तर आफू जिल्लाबाहिर भएकोले आफूले यथार्थ कुरा विराटनगर आएपछि मात्र प्रस्ट हुने बताए । कोशी प्रदेशका गृह प्रशासनसमेत हेर्ने मन्त्रीकै विराटनगरस्थित निवासमा छापा मारेको घटना गुपचुप नै रहेको थियो । तर, संघीय संसदमा धनकुटाका सांसद राजेन्द्र राईले प्रश्न उठाएपछि घटनाले व्यापकता पाएको हो ।