सुदूरपश्चिम प्रदेश सरकारले आफैँले बनाएको योजना छनोटसम्बन्धी मापदण्ड मिचेर बजेटमा सयौँ टुक्रे योजना समावेश गरेको पाइएको छ । गत ३१ वैशाखमा प्रदेश राजपत्रमा प्रकाशित मापदण्डले सडकका योजनामा एक करोड तथा प्रदेशको एकल क्षेत्राधिकारका अन्य भौतिक पूर्वाधारका योजनामा ५० लाख रुपैयाँभन्दा कम बजेट विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ।
वार्षिक कार्यक्रम पुस्तिकामा भने सडक र पूर्वाधारका पाँच–सात लाख लागतका योजना पनि समावेश गरिएका छन्। योजना छनोट मापदण्डअनुसार सिँचाइका योजनामा तराईमा एक करोड र पहाडमा २५ लाख, शिक्षाका पूर्वाधारमा ३२ लाख, स्वास्थ्य, शिक्षा, पर्यटन र खेलकुद पूर्वाधारका योजनाको लागत रकम सीमा ५० लाख तोकिएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले २५ लाखभन्दा कम लागतका योजना बजेटमा समावेश नगर्ने लिखित प्रतिबद्धता सार्वजनिक गरेका थिए। तर, पूर्वाधारका सयौँ योजनामा २५ लाखभन्दा कम बजेट विनियोजन गरिएको छ। जस्तै, कैलालीको जानकी– ८ मा नाला निर्माणको योजनामा आठ लाख, गोदावरी– ३ मा सडक निर्माण गर्न ६ लाख, धनगढी–१ मा सडक कालोपत्रे गर्न पाँच लाख बजेट विनियोजन गरिएको छ ।
४० लाख रुपैयाँभन्दा कम लागतका भवनका योजनामा बजेट विनियोजन नगर्ने मापदण्ड बनाएको सरकारले २० लाखसम्म लागतका दर्जनौँ भवनका योजना बजेटमा राखेको छ। शिक्षा, स्वास्थ्य, पर्यटन र खेल पूर्वाधारका योजना छनोटमा पनि मापदण्ड मिचेर छनोट गरिएको छ। पर्यटनसम्बन्धी एकाधबाहेक अधिकांश योजना ५० लाखभन्दा कम लागतका छन्।
सरकारले आफ्नो प्रतिबद्धता र योजनासम्बन्धी मापदण्डको धज्जी उडाएर बजेट ल्याएको भन्दै सत्तापक्षकै सांसद बजेटप्रति असन्तुष्ट देखिएका छन्। सरकारको नेतृत्व गरिरहेको कांग्रेस सांसद डम्बरी महराले बजेटमा धेरै विकृति रहेको बताइन्। ‘यस्तो बजेट आउला भन्ने अपेक्षा नै थिएन । सरकारले आफैँले बनाएको मापदण्डको धज्जी उडाएर योजना छनोट गरेको छ,’ उनले भनिन्, ‘बजेटमा थुप्रै विकृति देखिएका छन्। बजेटविरुद्ध हामी सदनमा कुरा उठाउँछौँ ।’
प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता खगराज भट्टले बजेट बेथितिको पराकाष्ठा रहेकाले त्यसलाई अस्वीकार गर्न सदनलाई आग्रह गरिने बताएका छन् । बजेटमा कति लागतका कस्ता योजना राख्ने भन्ने कुनै मापदण्ड नै पालना नगरी मुख्यमन्त्री र मन्त्रीले आफूखुसी योजना राखेको उनले आरोप लगाए । कांग्रेस र एमालेबिच उत्पन्न बजेट भागबन्डाको विवादका कारण आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले मध्यराति बजेट प्रस्तुत गरेका थिए ।
स्वास्थ्य र शिक्षाका योजना कानुन मन्त्रालयमा
चालू, पुँजीगत र मन्त्रालयगत बजेट नछुट्याएरै सार्वजनिक गरिएको बजेटमा एउटा मन्त्रालयअन्तर्गतका योजना अर्को मन्त्रालयमा राखिएकोसमेत पाइएको छ। स्वास्थ्य र शिक्षाका डेढ दर्जन योजना कार्यक्षेत्रै नभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत राखिएका छन् ।
विद्यालय तथा क्याम्पस भवन र स्वास्थ्य पूर्वाधार निर्माणका यी सबै योजना मुख्यमन्त्री कमलबहादुर शाहको गृहक्षेत्रका हुन्। मुख्यमन्त्री शाहको क्षेत्र लम्कीचुहा प्रादेशिक अस्पतालको भवन निर्माण र तला थपका लागि १० करोड बजेट आन्तरिक मामिला मन्त्रालयमा राखिएको छ ।
शिक्षा, स्वास्थ्य सामाजिक विकास मन्त्रालयले हेर्ने गरेको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्व कांग्रेसले नै गरिरहेको छ । ‘पार्टीभित्रै फरक गुटको भएकाले मुख्यमन्त्रीले आफूलाई कार्यान्वयनमा सहज हुने गरी कार्यक्षेत्र नै नभएको मन्त्रालयमा योजना राखेका हुन्,’ कांग्रेसकै एक सांसदले भने, ‘सांसदकै योजना परेका छैनन् । योजना छनोटमा ठुलो चलखेल भएको देखिन्छ ।’