म्याक्सिम गोर्कीका पिता निकै क्रोधी स्वभावका थिए । आपसमा कुराकानी गर्दागर्दै उनी गोर्कीलाई अमानवीय पारामा पिट्ने गर्थे । गोर्की पढ्न चाहन्थे, तर उनका पिता उनलाई जति वेला पनि काममा मात्र जोताउन चाहन्थे । ताकि, उनले पढ्नका लागि पैसा खर्च नगरून् ।
गोर्की केही समयसम्म बाबुका अत्याचार चुपचाप सहेर बसे । तर, उनको पढ्ने इच्छा दिनदिनै बढ्दै गइरहेको थियो । साथै, बाबुले पिट्ने डर पनि थियो । यस्तोमा बालक गोर्कीले एउटा उपाय खोजे । उनले एउटा कबाडी पसलमा नोकरी सुरु गरे । कबाडी पसलमा हजारौँ पुस्तक आउँथे, उनी आफ्नो खाली समयमा दुई–चारवटा पुस्तक लिएर पढ्न बस्थे । यसो गर्दा बाबुको पैसा त खर्च भएको थिएन । उल्टै उनले अलिअलि कमाइरहेका पनि थिए । तर, त्यसरी पढ्दा गोर्कीले किताबबाट केही बुझ्न भने सकिरहेका थिएनन् । जसको दृढ निश्चय हुन्छ, ऊ कसरी चुप लागेर बस्न सक्छ र ?
गोर्की आफूले नबुझेको कुरा कबाडी पसलमा आउने–जाने ग्राहकलाई सोध्थे । बिस्तार–बिस्तारै उनलाई अक्षर फेरि शब्द र अन्त्यमा अर्थको ज्ञान भयो । त्यसरी सिक्दै जाँदा उनी लेख्न सक्ने पनि भए । त्यसपछि उनले आफ्नो विचार एउटा समाचारपत्रमा छाप्नका लागि पठाए । सो समाचारपत्रका सम्पादकले बधाई पत्र पठाएपछि उनी नयाँ उत्साहले लेखन कार्यमा जुटे । यसको परिणाम के निस्कियो थाहा छ ? कबाडी पसलमा नोकरी गर्ने तिनै बालकले पछि गएर ‘आमा’ नामको एउटा पुस्तक लेखे, जुन संसारकै सर्वश्रेष्ठ पुस्तकमध्ये एक बन्न पुग्यो ।