पोखरा बसपार्क क्षेत्रमा पहिलो दिन दुई सय संरचना भत्काइयो

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

पोखरा महानगरपालिका– ९, पृथ्वीचोकस्थित पोखरा बसपार्क क्षेत्रमा लालपुर्जा भएका जग्गासहित जग्गा अतिक्रमण गरेर बनाइएका केही संरचनामा डोजर चलेको छ। पोखरा उपत्यका नगर विकास समितिले बसपार्क क्षेत्रमा निर्माण गरिएका दुई सय घर टहरामा बिहीबार डोजर चलाएको हो।

यसअघि समितिले गत ४ वैशाखमा ३५ दिने र त्यसपछि ९ जेठमा पुनः १५ दिने सूचना जारी गर्दै अतिक्रमण गरिएका संरचना हटाउन भनेको थियो। यसैगरी, ९ जेठमा बसपार्क क्षेत्रभित्र जग्गाधनी प्रमाणपत्र भएका जग्गाधनीहरूलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालू आवको सम्पत्ति-भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसँगै सटर कवल १५ दिनभित्र हटाउन भनेको थियो।

समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर तथा पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सघाउन सूचित गरेको थियो। तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने जारी सूचनामा जनाइएको थियो।

सुचनापछि निषेधाज्ञा एवं उत्प्रेषण परमादेशको माग गर्दै देवेन्द्र कायस्थसँगै अन्य चारजनाले जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा उपत्यका नगर विकास समिति कास्की र पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई प्रतिवादी बनाउँदै २० जेठमा उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गरेका थिए। 

अदालतले दुवै पक्षलाई बोलाएको २६ गतेको छलफलमा बसपार्कको उत्तरी क्षेत्रमा (पेट्रोल पम्प रहेको लाइन) रहेका जग्गाधनीहरूसँग महानगरपालिकाविरुद्ध अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिने, बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने तथा भविष्यमा निर्माण हुने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गर्ने सहमति भएको थियो। हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू सात दिनभित्र हटाउने सहमतिसमेत भएको थियो।

सोही सहमतिअनुसार घर टहरा खाली गरेपछि बिहीबार ती संरचनामा डोजर चलाइएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए। सहमतिसँगै ०३२ सालदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माणका लागि मार्गप्रशस्त गर्न सहयोग पुगेको आचार्यले बताए।

आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन २०३२ सालमा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा राजमार्ग विस्तारमा क्रममा बाटोमा परेको करिब नौ रोपनी छाडेर अतिक्रमणमा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफलमात्र बाँकी छ। प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रक्रियालाई अगाडि बढाउने महानगरको योजना छ।

सुकुमवासीलाई वैकल्पिक व्यवस्था गरेपछि मात्र हटाइने
बसपार्क क्षेत्रमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासी गरी पाँच सय बढी परिवार घरटहरा बनाएर बसेका छन्। । वास्तविक सुकुमवासी पहिचान गरी उनीहरूलाई वैकल्पिक व्यवस्थापन गरेपछि मात्र हटाउने महानगरको तयारी छ।

सुझावित समाचार