काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष ०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। कार्यवाहक नगरप्रमुख सुनीता डंगोलले बिहीबार नगर सभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गरेकी हुन्।

डंगोलले २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी अनुमानित बजेट पेस गरेकी हुन्। सञ्चित कोषमा जम्मा हुने अनुमानित रकममध्ये आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुनेछ। नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त, समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँको स्रोत अनुमान गरिएको छ। त्यसैगरी, जनसहभागिताबापत रु. १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ।

क्षेत्रगत रूपमा आर्थिक विकास क्षेत्रमा २.१ प्रतिशत (५४ करोड १८ लाख २० हजार रुपैयाँ) तथा सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत (२ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ) प्रस्ताव गरिएको छ। पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ रहेको छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ, जुन कुल बजेटको ८.५ प्रतिशत हो।

त्यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत (४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ) प्रस्ताव गरिएको बजेट वक्तव्यमा उल्लेख छ।

सुझावित समाचार