जिल्ला अस्पताल उदयपुरले कर्मचारी तथा चिकित्सकहरूलाई सेवा प्रवाहमा लापरबाही नगर्न कडा चेतावनी दिएको छ। अस्पताल प्रशासनले सूचना जारी गर्दै बिरामीलाई अनावश्यक रूपमा अन्यत्र रेफर गरे कानुनअनुसार कारबाही गरिने जनाएको हो। अस्पताल प्रशासनद्वारा जारी पत्रअनुसार बिरामीको सेवामा अवरोध सिर्जना गर्ने तथा जनतालाई दुःख दिने खालका गतिविधि दोहोरिए नियमानुसार कारबाही गरिनेछ।
अस्पताल प्रशासनका अनुसार पछिल्ला दिनहरूमा तलब–भत्ता, अस्पतालमा आवश्यक सामग्रीको अभाव तथा सेवा प्रवाहसम्बन्धी विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएका छन्। साथै विभिन्न माध्यमबाट जनगुनासो प्राप्त हुनुका साथै जिल्ला प्रशासन कार्यालयबाट समेत अस्पताललाई सचेत गराइएको अवस्थामा प्रशासनले सबै कर्मचारीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएको हो।
अस्पताल प्रशासनले जारी गरेको ‘ध्यानाकर्षण तथा जानकारी’सम्बन्धी पत्रमा अस्पतालका ओपिडी, आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी, दन्त उपचार तथा प्रसूति सेवासहित सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेको उल्लेख गरिएको छ।
कर्मचारी तथा चिकित्सकहरूको तलब–भत्ताका विषयमा अस्पताल प्रशासनले आवश्यक पहल गरिरहेको पनि जनाएको छ। प्रशासनका अनुसार विशेषगरी आकस्मिक कक्षमा आउने बिरामीहरूलाई आवश्यक समन्वयविना अन्यत्र रेफर गरिएको भन्ने गुनासो प्राप्त भएको छ।
अस्पतालमै उपचार तथा भर्ना गर्न सकिने अवस्थाका बिरामीलाई समेत अन्यत्र पठाउने गरिएको जनगुनासो आएपछि प्रशासनले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको हो।
सूचनामा इमर्जेन्सी शाखाबाट बिरामी रेफर गर्नुअघि सम्बन्धित विशेषज्ञ चिकित्सकसँग अनिवार्य परामर्श र समन्वय गर्न निर्देशन दिइएको छ। विशेषज्ञ चिकित्सकको रायविना बिरामी रेफर गरी जनतालाई सास्ती दिने काम भएको पाइए सम्बन्धित कर्मचारीमाथि कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
अस्पताल प्रशासनले सेवा प्रवाहलाई प्रभावकारी, सहज र जनमुखी बनाउन सबै कर्मचारी तथा चिकित्सकलाई आफ्नो जिम्मेवारीप्रति संवेदनशील र उत्तरदायी बन्न आग्रह गरेको छ।
गत शनिबार अस्पतालका चिकित्सकहरूले अस्पतालकै सभाहलमा पत्रकार सम्मेलन गर्दै अस्पतालमा देखिएका समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकाले आन्दोलनको तयारीमा रहेको घोषणा गरेका थिए।
उनीहरूले अस्पतालमा फिल्टर, साबुन, सर्फ, गज, पञ्जा, कुचोलगायत दैनिक आवश्यक सामग्रीसमेत उपलब्ध नभएको, अक्सिजन सकिएको तथा अक्सिजन आवश्यक पर्ने बिरामीको उपचारमा समेत कठिनाइ भइरहेको बताएका थिए। विभिन्न रोगको परीक्षण गर्ने प्रयोगशाला सेवा बन्द भएको, एक्स–रे सेवा ठप्प रहेको तथा हेमोडायलाइसिस सेवा पनि संकटमा परेको दाबी गर्दै आन्दोलनको घोषणा गरिएको थियो।
विशेषज्ञ चिकित्सकहरूले ६ महिनादेखि प्रोत्साहन भत्ता तथा अन्य सुविधा नपाएको, अस्पतालसँग आवश्यक औषधि, उपकरण तथा उपचार सामग्री खरिदका लागि बजेट अभाव रहेको भन्दै आय–व्यय विवरण सार्वजनिक गर्न माग गरेका थिए। यता, ५० शय्याको अस्पतालको वार्डमा बिरामी संख्या शून्य रहेको जनाइएको छ।