कानुन निर्माणका प्राथमिकताको छलफलमा मन्त्री गौतम

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग कानुन निर्माणका विषयमा छलफल गरेकी छन् । बिहीबार उनले मन्त्री यादवसँग कानुन निर्माणका प्राथमिकता र लक्ष्य निर्धारण पूरा हुने गरी काम गर्नका लागि छलफल गरेकी हुन् ।

यसअघि उनले बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गरेकी थिइन् । आगामी दिनमा आवश्यक पर्ने कानुन निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकताक्रम निर्धारण गरी विधेयकहरू तयार गर्न आग्रह गरेकी हुन् ।

बिहीबारको छलफलका क्रममा मन्त्री गौतमले कानुन निर्माणको प्राथमिकता र लक्ष्य निर्धारण गर्दा सबै मन्त्रालयबिच समान बुझाइ हुनुपर्ने, लक्ष्य निर्धारण महत्त्वाकांक्षी मात्र नभई प्राप्त गर्न सकिने र व्यावहारिक हुनुपर्नेलगायतका विषयमा जोड दिइन् ।

साथै, कानुन निर्माणको सूची तयार गर्दा समयसीमा यथार्थपरक र कार्यान्वयनयोग्य हुनुपर्ने विषयमा पनि जानकारी गराइन् । कानुन निर्माणसम्बन्धी योजना समयमै सम्पन्न हुने गरी स्पष्ट र व्यावहारिक हुनुपर्ने मन्त्री गौतमको भनाइ छ ।

हालसम्मका विधेयकहरूको अवस्था र आगामी लक्ष्यबारे साझा बुझाइ विकास गर्न बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको छ । छलफलका क्रममा श्रममन्त्री यादवले युवासँग सम्बन्धित विश्वव्यापी नयाँ चुनौती र मुद्दाहरूलाई सम्बोधन गर्नेगरी कानुन तथा नीति निर्माण गर्ने प्रतिबद्धता जनाए ।

रोजगारीको अवधारणा परिवर्तन हुँदै गएकाले आन्तरिक रोजगारी प्रवर्द्धनमा जोड दिनुपर्नेमा उनको भनाइ थियो । मन्त्रालयका धेरै योजना र लक्ष्य आवश्यक कानुन र बजेटको अभावका कारण कार्यान्वयन हुन नसकेको गुनासो उनले कानुनमन्त्री गौतमसमक्ष राखे ।

राष्ट्रिय रोजगारीको विषय महत्त्वपूर्ण भए पनि हालसम्म राष्ट्रिय रोजगारसम्बन्धी स्पष्ट नीति र कानुनको अभाव रहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

कानुनमन्त्री गौतमले सरकारको सयबुँदे कार्ययोजनाअनुसार सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक कानुन निर्माण तथा विद्यमान कानुन संशोधनका लागि विधेयक तयारीबारे अन्तरमन्त्रालय छलफल गरिरहेकी छन् । साथै, विधायन ऐनअनुसार आगामी आर्थिक वर्षमा संसदमा पेस गरिने विधेयकहरूको सूची असार मसान्तभित्र बुझाउन मन्त्रालयहरूलाई मार्गदर्शनसमेत गरिरहेकी छन् ।

सुझावित समाचार