सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको आकार २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको जेठ मसान्तसम्मको प्रतिवेदनअनुसार, ऋण दायित्व जिडिपीको ४४.८७ प्रतिशत पुगेको छ ।
चालू आवको सुरु (साउन)मा कुल ऋण दायित्व आन्तरिकतर्फ १२ खर्ब ६८ अर्ब २२ करोड र बाह्यतर्फ १४ खर्ब पाँच अर्ब ८२ करोड गरी २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ थियो ।
कुल सार्वजनिक ऋणमा जेठ मसान्तसम्म सरकारले तिर्नुपर्ने ऋण बाह्यतर्फ १५ खर्ब ८३ अर्ब ९१ करोड र आन्तरिकतर्फ १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ रहेको बताइएको छ । सरकारले चालू आवमा कुल पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण परिचालनको लक्ष्य राखेको थियो ।
जसमध्ये जेठ मसान्तसम्ममा चार खर्ब १८ अर्ब १२ करोड रुपैयाँ ऋण प्राप्ति भएको प्रतिवेदनमा उल्लेख छ । यो वार्षिक लक्ष्यको तुलनामा ७०.२० प्रतिशत हो । आन्तरिक ऋणतर्फ सरकारले तीन खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँ उठाएको छ, जुन वार्षिक लक्ष्यको ९३.५५ प्रतिशत हो । त्यसैगरी, बाह्यतर्फ ७९ अर्ब ४६ करोड रुपैयाँ प्राप्ति भएको छ । यो लक्ष्यको ३४.०१ प्रतिशत हो ।