यस्तो पनि...

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

लगातार ११ खेलमा जित
पाँचपटकको विश्वकप विजेता ब्राजिलले लगातार ११ खेलमा जितको रेकर्ड आफ्नो नाममा लेखाएको छ । ब्राजिलले सन् २००२ देखि २००६ को विश्वकपमा लगातार ११ खेलमा जित निकालेको थियो । सन् २००२ को संस्करणमा ब्राजिल च्याम्पियन नै बन्यो । सन् २००६ मा नेदरल्यान्ड्ससँग नकआउट चरणमा स्तब्ध भएको थियो । यसैगरी नेदरल्यान्ड्स र ब्राजिलले विश्वकपमा अपराजित रहेको रेकर्ड राखेका छन् । यसमा जित र बराबरी नतिजा गरी लगातार १३ खेलमा नहारेको रेकर्ड उनीहरूले राखेका हुन् ।

फाइनल नगुमाएका दुई राष्ट्र
इंग्ल्यान्ड र स्पेन विश्वकप इतिहासमा एकपटक मात्र फाइनल पुगेका छन् । सन् १९९६ मा इंग्ल्यान्ड र सन् २०१० को विश्वकपमा स्पेन पुगेको थियो । रमाइलो पक्ष के रह्यो भने यी दुवै राष्ट्रले अहिलेसम्म खेलेको फाइनल त्यही नै बनेका छन् । इंग्ल्यान्ड र स्पेनले पहिलो फाइनलमै उपाधि जितेका छन् । सन् १९६६ मा घरमै आयोजना भएको विश्वकप जितेको इंग्ल्यान्ड सन् २०१८ को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । 

धेरै गोल गर्ने राष्ट्र जर्मनी
विश्वकपमा धेरै गोल गर्ने राष्ट्रको शीर्ष स्थानमा जर्मनी छ । चालू विश्वकपमा जर्मनीले आफ्नो पहिलो खेलमा डेब्यु टोली कुरासाओमाथि ७–१ को जित निकाली ब्राजिलको रेकर्ड तोडेको हो । जर्मनीले अहिलेसम्म २३९ गोल गरेको छ । जर्मनीले यो सफलता प्राप्त सन् १९३० देखि २०२६ सम्मको विश्वकप यात्राबाट हात पारेको हो । विश्वकपको एकै संस्करणमा एक टोलीले विपक्षी पोस्टमा सर्वाधिक गोल गर्ने रेकर्ड भने हंगेरीको नाममा छ । हंगेरीले सन् १९५४ मा २७ गोल गरेको थियो । 

मेक्सिकोको लगातार नौ हार
विश्वकप इतिहासमा दक्षिण अमेरिकी टोली मेक्सिको नाममा खराब रेकर्ड छ । मेक्सिकोले सन् १९३० देखि १९५८ सम्मको विश्वकपमा कुनै पनि खेल जित्न सकेन । उसले लगातार नौ खेलमा हारको सामना गर्यो । यसैगरी बुल्गेरियाले विश्वकपमा १८औँ खेलमा जित निकाल्यो । सन् १९६२ देखि १९९४ सम्म विश्वकप यात्रा गरेको बुल्गेरिया १७ खेलसम्म जितविहीन भएको थियो । बेल्जियमले सन् १९९८ देखि २००२ सम्म लगातार पाँच खेल ड्र खेलेको थियो । 

सुझावित समाचार