धमाधम बन्द हुँदै चिया उद्योग : कूटनीतिक पहल गर्न महासंघको माग

इलाम र झापाका पाँच दर्जनभन्दा बढी उद्योगहरू बन्द, निर्यातमा अवरोध सिर्जना हुँदा ११ लाख किलोभन्दा बढी तयारी चिया गोदाममै

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

भारतीय अवरोधका कारण चिया निकासी ठप्प भएपछि चिया उद्योगहरू धमाधम बन्द भएको भन्दै कूटनीतिक पहल गर्न उद्योग वाणिज्य महासंघले सरकारसँग आग्रह गरेको छ ।

भारतीय पक्षले नेपाली चियाको गुणस्तर परीक्षणको नाममा गरेको अवरोधका कारण चिया निकासी प्रभावित भएपछि इलाम र झापाका पाँच दर्जनभन्दा बढी उद्योगहरू बन्द भएका छन् । झापा, इलामलगायत जिल्लामा उत्पादित चियाको निर्यातमा अवरोध सिर्जना हुँदा ११ लाख किलोभन्दा बढी तयारी चिया गोदाममै रोकिएका छन् । यसले कोशी प्रदेशको इलाम र झापाका चिया उद्योग, कृषक र कामदार कर्मचारीहरूसमेत प्रभावित भएका छन् ।

भारतीय चिया बोर्डले गत मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिज’ (एसओपी) र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यावहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको छ । नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी)का कारण इलामका ६० वटा उद्योगहरू १ असारदेखि नै बन्द भइसकेका छन् । झापाका चिया उद्योगहरू पनि ४ असारदेखि बन्द गर्ने घोषणा गरेको नेपाल चिया उत्पादक संघ झापाले जनाएको छ ।

उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले विगतमा यस्ता समस्या आपसी छलफल र कूटनीतिक पहलबाट समाधान हुँदै आए पनि यसपटक लामो समयसम्म निर्यात अवरुद्ध हुँदा समग्र चिया क्षेत्र नै धराशायी बनिरहेको बताए । चिया उद्योगले रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै उनको भनाइ छ । उनले भने ‘नेपाली चिया उद्योग, किसान तथा श्रमिकको हितका लागि सरकारले तुरुन्तै कूटनीतिक पहल गरेर चिया निकासी अवरोधको समस्या समाधान गर्नुपर्छ नत्र अझै विकराल अवस्था आउनेछ ।’

यस क्षेत्रले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँबराबरको कारोबार गर्दै आएको छ । वार्षिक पाँच अर्ब रुपैयाँभन्दा बढीको चिया भारततर्फ निर्यात हुने गर्छ । ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको र राज्यलाई वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व बुझाउने यो क्षेत्र हाल छिमेकी मुलुकको अव्यावहारिक नीतिगत परिवर्तनका कारण बन्द हुने अवस्थामा पुगेको महासंघको भनाइ छ । ‘छिमेकी देशले लागू गरेको नयाँ मापदण्डअन्तर्गत झन्झटिलो गुणस्तर परीक्षण, रिपोर्ट आउन लाग्ने २० देखि २५ दिनको लामो अवधि, अनिवार्य गोदाम शुल्क र रिपोर्ट कमजोर आएमा चिया नै नष्ट गर्नुपर्नेजस्ता अव्यावहारिक नियमका कारण निर्यात ठप्प भएको छ,’ महासंघले भनेको छ ।

कूटनीतिक पहल भइरहेको मन्त्री कुमारीको भनाइ 
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चियाको निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले कूटनीतिक पहल गरिरहेको जानकारी दिइन् । बुधबार संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले भारतमा चिया निर्यातमा भइरहेको प्राविधिक र व्यापारिक अवरोध हटाउन सरकार लागिरहेको बताएकी हुन् । यसअघि सांसद निश्कल राईले चिया निर्यातमा भएको अवरोधमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

सुझावित समाचार