नेकपाभित्रको विवाद उत्कर्षमा : झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले ३६ बुँदे असन्तुष्टिपत्र पठाउँदै संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालको राजीनामा मागेसँगै विवाद उत्कर्षमा पुगको हो ।

खनालले प्रचण्ड–माधवलाई पार्टी हाँक्न नसक्ने अयोग्य नेताको आरोप लगाएका छन् । पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ । त्यसो हुँदा तपाईं संयोजक र सहसंयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्गप्रशस्त गर्नोस् । नयाँ, योग्य र विचारवान् कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनोस्, त्यो कमिटीले राष्ट्रिय महाधिवेशन गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरोस् ।’ खनालले प्रचण्डको संयोजक र नेपालको सहसंयोजक पदको औचित्यमाथि गम्भीर प्रश्न उठाएका छन् । ‘एउटा संयोजक बनेर पार्टी चलाउन किन नसक्ने ? के अब महाधिवेशन गर्दा पनि यस्तै सेटिङ गर्नुहुन्छ ? अब कार्यकर्ताले त्यस्तो सेटिङ स्वीकार गर्लान्, कमरेड ! राम्ररी विचार गर्नोस्,’ उनले भनेका छन् ।

खनालले संयोजक र सहसंयोजक पदलाई तत्कालीन एमाले र माओवादीबिचको एकताकै अर्को संस्करण भनेका छन् । ‘अहिले तपाईंले २६ वटा घटक एकताबद्ध गरेर अर्को नेकपा घोषणा गर्नुभयो । यसपटक पनि तपाईंले पहिलेको जस्तै संयोजक र सहसंयोजक बनाउनुभएको छ । के यो त्यही ‘दुई पाइलट’को अर्को संस्करण हो ? त्यतिवेला त दुई पार्टी एकीकृत भएकाले दुई पाइलट राखियो भनेर तर्कसम्म गर्न सकिन्छ,’ पत्रमा उनले भनेका छन् ।

नेकपा नेता खनालले प्रचण्ड माधव नेपालको सुनियोजित जालमा किन फसेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । ‘तपाईं माधव नेपालको सुनियोजित जाल र दबाबमा यसरी फस्नुभयो कि म त तीन छक्क परेको छु,’ उनले भनेका छन् । विशेषगरी अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी आफूलाई दिने मौखिक सहमति भए पनि माधव नेपालले ‘देश घुम्ने स्वार्थ’का लागि उक्त विभाग आफैँसँग राखेको र प्रचण्डले त्यसमा लाचार आत्मसमर्पण गरेको खनालको आरोप छ । पार्टीमा विधि र पद्धति मिचिएको भन्दै खनालले भीम रावललाई अपमानित गरिएको र हरिबोल गजुरेललाई स्पष्टीकरणको मौकासमेत नदिई निष्कासन गरिएकोमा पनि असहमति जनाएका छन् । उनले नौ महिनासम्म आफूलाई कुनै भूमिका नदिइएकोमा आक्रोश व्यक्त गरेका छन् । 

See More On

सुझावित समाचार