गृहमन्त्री सुधन गुरुङले नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर तामझाम र ‘पिर्केसलामी’ नलिने घोषणा गरेको धेरै भएको छैन। संघीय सरकारका मन्त्रीदेखि स्थानीय तहका प्रमुखहरूसम्मले पिर्केसलामी लिन थालेको भन्दै सार्वजनिक वृत्तबाट आलोचना भइरहेको थियो।
गृहमन्त्रीले यो कार्यशैली सुधार्ने प्रयास गरेका हुन्। तर, बुधबार सप्तरी आएका सिडिओ श्यामकृष्ण थापाले जिल्ला प्रवेश गरेकै दिन ‘पिर्केसलामी’ ग्रहण गरेका छन्।
राजविराजस्थित जिल्ला प्रशासन कार्यालयपरिसरमा भर्खरै सरुवा भएर आएका सिडिओ थापालाई नेपाल प्रहरीको टोलीले सलामी अर्पण गरेको हो।
उनले रातो कपडा बिछ्याइएको पिर्कामा उभिएर ‘सलाम प्रमुख जिल्ला अधिकारी, सलामी अर्पण’ भन्दै दिइएको सलामी ठाँटका साथ ग्रहण गरे।
श्यामकृष्ण थापा रामेछापबाट सरुवा भएर सप्तरी आएका हुन् भने दुर्गराज पोखरेल सप्तरीबाट ओखलढुंगा गएका हुन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले प्रमुख जिल्ला अधिकारी भनेको जिल्लास्थित सुरक्षा निकायको विभागीय प्रमुख पद भएकाले सोहीबमोजिम नेपाल प्रहरीले सम्मान दिएको र आफूले ग्रहण गरेको बताए।
सप्तरी प्रहरी प्रवक्ता हेमराज घिमिरेले कानुनबमोजिम सलामी दिइएको भन्दै प्रमुख जिल्ला अधिकारीले पाउने सम्मानअनुसार सलामी अर्पण गरिएको बताए।