अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले पदभार ग्रहण गरेका छन् । इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले नवनियुक्त अध्यक्ष डाँगीलाई कार्यालयमा स्वागत गर्दै पदबहाली गराएका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष डाँगीले अधिवेशनको समयमा साथीहरू फरक कित्तामा देखिए पनि साधारणसभाबाट सर्वसम्मत नेतृत्व चयन भएपछि अहिले समग्र ऊर्जा क्षेत्र एक ढिक्का भएर अघि बढेको विश्वास व्यक्त गरे ।

‘चुनावको बेला जे भयो, सकियो । अब हामी एक ढिक्का भएर काम गर्नेछौँ। सबैजना एक ठाउँमा हुनु अवसर र चुनौती दुवै हो। कार्यसमितिमा आउनुभएका सबै साथीहरूलाई पूर्ण अधिकारसहित विभिन्न जिम्मेवारी दिएर कार्यविभाजन गरेर काम गर्नेछौँ,’ अध्यक्ष डाँगीले भने ।

यसअघिका तीनवटा कार्यसमितिमा बसेर काम गरिसकेका डाँगी चौथो कार्यकालमा आफै अध्यक्ष बनेका हुन्। इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले इप्पानमा आबद्ध भइसकेपछि जुनसुकै पदमा बसेको भए पनि बोल्दा सधैँ ध्यानदिनुपर्ने बताए ।

‘कार्यसमितिको सदस्यले बोल्दा पनि अध्यक्षले जिम्मा लिनुपर्छ । त्यसैले बाहिर बोल्दा सल्लाह गरेर मात्रै बोल्नुपर्छ । कुनै कुराको पूर्णजानकारी छैन भने यसवारेमा पछि कुरा गरौँला भनेर भन्नसक्नुपर्छ,’ कार्कीले भने, ‘बोलिमा सजगता अपनाउन सकिएन भने १५ खर्ब रुपैयाँ लगानी भएको सिंगो क्षेत्रले नै त्यसको मूल्य चुकाउनुपर्छ ।’

निवर्तमान अध्यक्ष कार्कीले हिजो आफ्नो कार्यसमितिले उठाएका मुद्दाहरू सबैजसो राजनीतिक दलका घोषणापत्रमा समेटिनु ठुलो सफलता भएको र अबको कार्यसमितिले त्यसलाई कार्यान्वयनका लागि झकझक्याइरहनुपर्ने पनि बताए ।

इप्पानका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले हिजो र आज बस्ने आसन परिवर्तन भए पनि ऊर्जा क्षेत्रका मुद्दाहरूमा हिजोकै जसरी सँगै हुने बताए ।

‘निवर्तमान अध्यक्षज्यूको आफ्नै लिगेसी छ । यो कार्यसमितिले त्यो लिगेसी सतप्रतिसत बहन गर्न नसक्ला की भन्ने लागिरहेको छ। त्यसैले सिट परिवर्तन भए पनि ऊर्जा क्षेत्रको बृहत्तर हितका लागि हामी सधैँ सँगै हुने विश्वास छ,’ भ्लोनले भने ।

७०० ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेको इप्पानको नयाँ नेतृत्व गत जेठ २९ गते चयन भएको थियो । यही असार १ गते शपथग्रहण गरेको नयाँ कार्यसमितिले असार ३ गते बुधबारदेखि पदभार ग्रहण गरेको छ।

सुझावित समाचार