सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि बंगलादेशका राजदूत मो. सफिकुर रहमानबिच शिष्टाचार भेटवार्ता भएको छ। बुधबार सभामुखनिवासमा भएको भेटमा दुवै पक्षले नेपाल–बंगलादेश सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल गरेका थिए। सभामुख अर्यालले नेपाल र बंगलादेशबिचको सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताए।
उनले दुवै देशमा लोकतान्त्रिक प्रक्रियामार्फत सरकार गठन भइसकेको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे। साथै बंगलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै नेपालले त्यहाँको असल अभ्यासबाट लाभ लिन सक्ने धारणा राखे ।
सभामुख अर्यालले खेलकुद, पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरीय सम्पर्कले दुई देशका नागरिकबिचको सम्बन्ध थप प्रगाढ बनाएको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि र प्राविधिक क्षेत्रको सहकार्यलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। भेटका क्रममा जलवायु परिवर्तनका साझा चुनौतीबारे पनि छलफल भएको थियो। सभामुख अर्यालले हिमाली क्षेत्र र समुद्री तटीय क्षेत्रसँग सम्बन्धित वातावरणीय जोखिम दुवै मुलुकका साझा सरोकारका विषय भएको उल्लेख गरे ।
राजदूत रहमानले नेपाल र बंगलादेशले जलवायु परिवर्तन, प्राकृतिक विपत् व्यवस्थापन, विकास तथा आर्थिक रूपान्तरणका क्षेत्रमा समान प्रकृतिका चुनौती सामना गरिरहेको बताउँदै अनुभव आदान–प्रदान र साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा विद्यमान सहकार्यलाई अझ विस्तार गर्न बंगलादेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन दुवै देशले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।