मधेश प्रदेशका विभिन्न जिल्लामा काजमा कार्यरत रहेका ३५ जना प्रहरीलाई बिदाविनाको रवाना गर्ने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले पत्रचार गरेको छ ।
यहाँको विभिन्न जिल्लामा काजमा कार्यरत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सइ)देखि प्रहरी जवानसम्मका प्रहरीलाई असार २ मा तत्काल रवाना हुन प्रदेश प्रहरी कार्यालयले पत्रचार गरेको हो ।
जेठ २९ गतेको प्रहरी प्रधान कार्यालय नक्सालको कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ७६८४ ले प्रदेश प्रहरी कार्यालय जनकपुरलाई काजमा रहेका प्रहरीलाई दरबन्दी भएको स्थानमा रवाना गर्न पत्रचार भएको उल्लेख छ ।
साथै यहाँका विभिन्न जिल्लामा कार्यरत रहेका प्रहरीलाई अर्को आदेश नभएसम्मका लागि कुनै घर बहाना नबनाई आजै कार्यालय समयसम्ममा रवाना गर्न र तालुक कार्यालयमा जानकारी गराउन उक्त पत्रमा लेखिएको छ । रवाना हुने प्रहरीलाई रवाना बिदा उल्लेख भए पठाएको खण्डमा सम्बन्धित कार्यालय प्रमुखलाई प्रहरी नियमावली २०७१,(संशोधनसहित) कारबाही हुने भनिएको छ ।
रवाना हुनेमा वरिष्ठ सइदेखि प्रहरी जवानसम्म
मधेश प्रदेशका जिल्लासँगै अरू प्रदेशमा दरबन्दी भएर यहाँका विभिन्न जिल्लामा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षकदेखि प्रहरी जवानसम्म रवाना हुने सूचीमा रहेका छन् ।
दरबन्दी भएको स्थानमा रवाना हुनेमा ६ जना वरिष्ठ प्रहरी नायब निरीक्षक, आठजना प्रहरी नायब निरीक्षक रहेका छन् । यस्तै, १३ जना प्रहरी सहायक निरीक्षक, दुईजना प्रहरी सहायक हवल्दार र ६ जना प्रहरी जवान रहेको रवानापत्रमा लेखिएको छ ।
रवाना हुनेमा अधिकांश प्रहरीहरू यहीँ प्रदेशमा लामो समयदेखि कार्यरत रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूविरुद्ध प्रहरी प्रधान कार्यालयमा पटकपटक उजुरी र गुनासो पुगेपछि अहिले रवाना हुनलाई निर्देशन आएको स्रोतको दाबी छ ।