इंग्ल्यान्डलाई क्रोएसियाको चुनौती

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

गत वर्ष डिसेम्बरमा विश्वकपको ‘ड्र’ सार्वजनिक हुँदा समूह ‘ए’लाई ग्रुप अफ डेथ भनिएको थियो । यस समूहमा इंग्ल्यान्ड, क्रोएसिया, पानामा र घाना थिए । जसकारण यस समूहलाई विश्वकपकै कठिन प्रतिस्पर्धात्मक खेल हुने संज्ञा दिइएको हो । यस समूहको पहिलो खेलमै पूर्वविजेता इंग्ल्यान्ड र पूर्वउपविजेता क्रोएसिया आमनेसामने हुँदै छन् । युरोपियन च्याम्पियनसिपका पछिल्ला दुई संस्करणमा लगातार उपविजेता बनेको इंग्ल्यान्डले सन् २०१८ को विश्वकप फाइनलिस्ट तथा २०२२ मा सेमिफाइनललिस्ट क्रोएसियासँगको प्रतिस्पर्धालाई एक किसिमको त्रासका रूपमा लिएको छ । 

इंग्ल्यान्डले विश्वकप जित्न नसकेको ६० वर्ष भएको छ । इंग्ल्यान्डले फुटबल इतिहासमा ठुलो अन्तर्राष्ट्रिय उपाधि जितेको सन् १९६६ मा आफैँले आयोजना गर्दा विश्वकप थियो । उपाधि नै जित्न नसके पनि इंग्ल्यान्डको प्रदर्शन अन्तर्राष्ट्रिय प्रतियोगितामा सधै उच्चस्तरको हुने गर्छ । आठ वर्षयता भने टोलीले मुख्य प्रतियोगितामा लामो यात्रा गरेर पनि त्यसलाई प्रमाणित गरेको छ । पूर्वप्रशिक्षक गारेथ साउथगेटको नेतृत्वमा सन् २०१८ को विश्वकपमा सेमिफाइनल पुगेको टोली त्यसपछि सन् २०२१ र २०२४ को युरोपियन च्याम्पियनसिपमा लगातार फाइनल पुगेको थियो । युरो २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि गारेथ साउथगेटले राजीनामा दिए । र, उनलाई स्थानान्तरण गरेका जर्मन प्रशिक्षक थोमस टचेलको नेतृत्वमा इंग्ल्यान्डले विश्वकपमा ६ दशकदेखिको उपाधि खडेरी पुर्ने लक्ष्यका साथ सहभागिता जनाउँदै छ । 

उत्कृष्ट लयमा क्रोएसिया
युगोस्लाभियाबाट स्वतन्त्र भएपछि पहिलोपटक सन् १९९८ को विश्वकपमा सहभागिता जनाउने क्रममै टोली तेस्रो भएको थियो । सन् २०१८ को रुस विश्वकपमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो । कतार विश्वकपमा क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । त्यसवेला क्रोएसियाले ब्राजिललाई पन्छाएको थियो । क्रोएसियाली फुटबलका महानायक लुका मोड्रिच अहिले ४० वर्षको उमेरमा पनि टोलीका शीर्ष खेलाडी हुन् ।

प्लेयर्स टु वाच

ह्यारी केन (इंग्ल्यान्ड)
इंग्लिस समर्थकले ह्यारी केनको कप्तानीमा पुनः एकपटक विश्वकप उपाधिको आशा गरेका छन् । केनको कप्तानीमा इंग्ल्यान्डले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उनको कप्तानीमा लगातार दुईपटक युरोकप फाइनलमा पुग्दा इंग्ल्यान्ड उपविजेतामा सीमित भयो । केनको आगमनसँगै इंग्ल्यान्डको टोली बलियो छ । रक्षापंक्तिदेखि फिनिसिङसम्मका खेलाडी केनकै नियन्त्रणमा हुने गर्छन् । स्ट्राइकरको भूमिका पाए पनि केन आफैँ आवश्यकताअनुसार मिडफिल्डमा पुग्छन् । बायर्न म्युनिखमा व्यावसायिक फुटबल खेलिरहेका केन अहिले उत्कृष्ट फर्ममा छन् । खेलाडीलाई आत्मविश्वास दिलाउन सक्नु उनको प्रमुख खुबी हो ।

लुका मोड्रिच (क्रोएसिया) 
क्रोएसियाको फुटबलमा सर्वकालीन उत्कृष्ट खेलाडीका रूपमा मोड्रिचको नाम आउँछ । ४० वर्षको भए पनि उनी अझै क्रोएसियाका प्रमुख खेलाडीमै पर्छन् । अर्थात् उनी टोलीका शीर्ष खेलाडी हुन् । स्पेनिस क्लब रियल म्याड्रिडमा रहँदा उनी ६ पटकका लिग विजेता बनेका थिए । अहिले उनी सिरी ‘ए’ क्लब इन्टरमिलानबाट व्यावसायिक खेल खेलिरहेका छन् । आठ वर्षअघि क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउन उनले उत्कृष्ट खेल देखाएका थिए । उनी विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडीले प्रत्येक वर्ष पाउने बालन डि’अर अवार्डबाट सम्मानित भएका छन् ।

See More On

सुझावित समाचार