विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

प्रदेश सभामा रहेका विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन लुम्बिनी प्रदेशमा सुरु भएको छ । लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा दाङको राप्ती उपत्यकास्थित लुम्बिनी सभाहलमा सुरु भएको सम्मेलनमा बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति, सदस्य, प्रदेश सभा पदाधिकारी, विज्ञ तथा कर्मचारीहरूको सहभागिता रहेको छ।

सम्मेलनमा विशेषाधिकार समिति लुम्बिनी प्रदेश सभाका सभापति गिरधारीलाल न्यौपानेले प्रस्तुत गरेको अवधारणापत्रमा प्रदेश सभाको गरिमा, स्वतन्त्रता, प्रभावकारिता र उत्तरदायित्वलाई सुदृढ बनाउन विशेषाधिकार समितिको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ। समितिहरूबिच संस्थागत समन्वय अभिवृद्धि गर्ने, संसदीय विशेषाधिकारसम्बन्धी अभ्यासको समीक्षा गर्ने, साझा मापदण्ड विकास गर्ने तथा अन्तरसंसदीय सहकार्य विस्तार गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिइएको छ ।

सम्मेलनकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाका विशेषाधिकार समितिहरूबिचको समन्वय, अनुभव आदान–प्रदान र साझा सिकाइले संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताए।

उनले यो सम्मेलन संघीयता मजबुत बनाउने कोसेढु‌ंगा साबित हुने विश्वास व्यक्त गर्दै अन्तरसंवाद र अनुभव आदान–प्रदानबाट रहेका कमी कमजोरीहरू हटाउन सहयोग पुग्ने बताए। सो अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संघीयता सफल बनाउन प्रदेश संरचनालाई थप बलियो बनाउनुपर्ने बताए ।

लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी, संविधान सभा सदस्य खिमलाल देवकोटा, बागमती प्रदेश विशेषाधिकार समितिकी सभापति मायाँदेवी शर्मा तथा सुदूरपश्चिम प्रदेश विशेषाधिकार समितिका सभापति तुलसी देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विशेषाधिकार समितिका सदस्य अम्बिका काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सदस्य निमा गिरीले गरेकी थिइन् । 

सुझावित समाचार