सोमबार मध्यरातमा बजेट प्रस्तुत गरेको सुदूरपश्चिम प्रदेश सरकारले मंगलबारसम्म पनि विनियोजन गरिएको सम्पूर्ण विवरण सार्वजनिक गरेको छैन । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेश सभामा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरे पनि दोस्रो दिनसम्म बजेट वक्तव्य, चालू र पुँजीगत बजेट तथा कुन मन्त्रालयलाई कति रकम विनियोजन गरिएको छ भन्ने विवरण खुलाएका छैनन् ।
सोमबार राति मन्त्री धामीले यी विषय नखुलाएर बजेटको आकार मात्र प्रस्तुत गरेका थिए । सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट भाषणको ‘सफ्ट कपी’ पनि मंगलबार बेलुकी मात्र वितरण गरिएको छ । बजेटपछि सांसदहरूलाई समेत बजेट वक्तव्य र रातो किताब वितरण गरिएन ।
सत्तारुढ कांग्रेस र एमालेबिच बजेट भागबन्डाको विवादले मध्यराति मात्र बजेट सार्वजनिक गरिएको थियो । आफूले सिफारिस गरेका योजना र नेतृत्व गरेको मन्त्रालयको बजेट थप गर्नुपर्ने माग एमालेले गरेपछि दुई दलबिच विवाद उत्पन्न भएको थियो । स्रोतका अनुसार एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सिफारिस गरेका केही योजनाहरू थप गर्ने सहमतिपछि मध्यराति बजेट प्रस्तुत गरिएको हो ।
पूर्वआर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सरकारले न्यूनतम आर्थिक अनुशासनसमेत पालना नगरी बजेट प्रस्तुत गरेको टिप्पणी गरे ।
बजेट प्रस्तुत गर्नुअघि बजेट वक्तव्य, विनियोजन विधेयक र अर्थविधेयक प्रदेश सभामा दर्ता गर्ने चलन छ । विगतमा बजेटलगतै त्यसको प्रति र रातो किताब सांसदलाई वितरण गर्ने तथा बजेट वक्तव्य मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्ने गरिएको थियो । तर, यसपालि यी कुनै पनि प्रक्रिया गरिएनन् । बजेट वक्तव्य, विनियोजन विधेयक र अर्थविधेयक सरकारले प्रदेश सभामा दर्ता नै गरेन । बजेट प्रस्तुतपछि सांसदलाई त्यसको प्रति र रातो किताब पनि वितरण गरिएन । ‘बजेटसँगै यससँग सम्बन्धित विधेयकहरू मन्त्रालयले औपचारिक रूपमा पत्रसहित दर्ता गराउने अभ्यास छ, तर यसपालि प्रदेश सभामा बजेट वक्तव्य तथा बजेटसँग सम्बन्धित अर्थ र विनियोजन विधेयक दर्ता नभई सिधै बजेट प्रस्तुत भयो,’ प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले भने, ‘अर्थ विधेयक र विनियोजन विधेयक आज (मंगलबार) पनि आएको छैन ।’