एकैपटक ५ हजार ३०२ फार्मेसीको दर्ता खारेज

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण
  • मनाङ, मुस्ताङ र रसुवाबाहेक ७४ जिल्लाका नियमअनुसार नवीकरण गर्न नआएका फार्मेसी खारेज, सबैभन्दा धेरै काठमाडौंमा १,१३८ र सबैभन्दा कम हुम्ला र रुकुम पश्चिममा तीन–तीन

औषधि व्यवस्था विभागले एकैपटक पाँच हजारभन्दा बढी औषधि पसलहरूको दर्ता रद्द गरेको छ । नियमअनुसार नवीकरण हुन नआएका पाँच हजार ३०२ औषधि पसलको मंगलबार एकैदिन दर्ता खारेज गरेको हो ।

विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्थाअनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जानकारी गराएकी छिन् । नवीकरण नगरिएका औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वतः रद्द हुने व्यवस्था ऐनमा छ । २८ जेठ ०८३ सम्म नवीकरण म्याद समाप्त भएका र तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची–९) स्वतः रद्द भएको खड्कीले बताइन् ।

‘नियम, प्रक्रियाअनुसार सञ्चालन नभएका औषधि पसलहरूको दर्ता रद्द भएको छ,’ उनले भनिन्, ‘तोकिएको समयमा नवीकरण हुन नआउनु फार्मेसीहरूको नै दोष हो ।’ औषधि ऐनको दफा ११ को उपदफा (५) मा तोकिएको समयभित्र नवीकरण नगरिएका फार्मेसीलाई कारबाही गर्नुपर्ने व्यवस्था छ । सोही दफामा टेकेर विभागले कारबाही गरेको हो ।

औषधि ऐन, २०३५ को नियमावली २०३८ ले फार्मेसीको म्याद समाप्त भएको ३५ दिनभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो । सो नियमवलीमा म्याद सकिएको ३ महिनासम्म २५ प्रतिशत जरिवाना तिरेरै पनि नवीकरण गर्न सकिने व्यवस्था गरिएको थियो । तर, आठ महिनाअघि विभागले बनाएको नयाँ नियमावलीअनुसार तोकिएको मितिसम्म दर्ता हुन नआएका औषधि पसलहरू स्वतः खारेज हुने व्यवस्था छ । विभागका प्रवक्ता एवं वरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यले नियमावलीअनुसार विभागले पाँच हजार ३०२ फार्मेसीको दर्ता खारेज गरेको हो । अब ती फार्मेसीहरू चल्न पाउनेछैनन् । सञ्चालन गर्नुपरे नयाँ दर्ता प्रक्रियाबाट सञ्चालनको अनुमति लिनुपर्नेछ ।

आठ महिनाअघि बनेको नियमावलीको संशोधित व्यवस्थाअनुसार विभागले तोकेको समयभित्र दर्ता हुन नआएकालाई स्वतः खारेज गर्न सक्ने व्यवस्था छ । ‘ती फार्मेसीमध्ये केही बन्द भइसकेका पनि हुन सक्छन्, कतिपयले नवीकरणका लागि चाहिने मापदण्ड पूरा नगरेका हुन सक्छन्, तर यति ठुलो संख्यामा फार्मेसी दर्ता हुन नआउनु ठुलो विषय हो,’ बज्राचार्यले भने, ‘दर्ता तथा नवीकरणविना कुनै पनि फार्मेसी सञ्चालन गर्न पाइँदैन ।’

विभागका अनुसार नेपालभर २६ हजार ३०० फार्मेसी छन् । त्यसमध्ये पाँच हजार ३०२ रद्द भएपछि २० हजार ९९८ मात्रै औषधि पसलहरू रहेको विभागका औषधि व्यवस्थापक बज्राचार्यले बताए । उनले म्याद गुज्रिएका र डाक्टरको अनुमतिविना औषधि बेच्ने फार्मेसीमाथि पनि अनुगमन र कारबाही हुने बताए ।

म्याद गुज्रिएका औषधि बेच्छन् कतिपय फार्मेसी 
विभागका अनुसार हाल देशभर रहेका फार्मेसीमध्ये कतिपयले म्याद गुज्रिएका औषधिसमेत बेच्ने गरेका छन् । विभागले छड्के तथा अनुगमनका क्रममा म्याद गुज्रिएका औषधि बरामदसमेत गरेको छ । विभागका वरिष्ठ औषधि व्यवस्थापक बज्राचार्यका अनुसार कतिपय फार्मेसीलाई म्याद गुज्रिएका औषधि बेचेको र चर्को मूल्यमा बिक्री–वितरण गरेको भेटिएपछि जरिवानासमेत गरिएको छ । विभागले चालू आवमा ५० भन्दा बढी फार्मेसीलाई कारबाहीसमेत गरेको छ । 

‘कतिपय फार्मेसीहरूले तोकिएभन्दा बढी मूल्यमा औषधि बेच्छन्, कतिपयले म्याद गुज्रिएको औषधि पनि बेच्छन्, त्यस्ता फार्मेसीलाई हामीले अनुगमन गरेर कारबाही गर्छौँ,’ बज्राचार्यले भने, ‘बरामद गरिएका औषधि मापदण्ड र प्रक्रिया पुर्‍याएर डिस्पोज गर्दै आइरहेका छौँ, म्याद गुज्रिएका औषधि बिक्री–वितरण गर्नु जनस्वास्थ्यमाथि अपराध गर्नु हो, त्यस्ता फार्मेसीको दर्तासमेत खारेज हुन सक्ने कानुनी व्यवस्था छ ।’ उनका अनुसार चालू आवमा विभागले म्याद गुज्रिएको तथा चर्को शुल्क असुलेका फार्मेसीलाई रद्द नगरी जरिवाना शुल्क तिराएको छ । 

डाक्टरको प्रेस्क्रिप्सनविनै औषधि बेच्छन् फार्मेसीहरू
विभागका अनुसार कतिपय फार्मेसीले डाक्टरको पेस्क्रिप्सनविनै औषधि बेच्ने गरेका छन् । काठमाडौंबाहिर सञ्चालित फार्मेसीहरूले नियमविपरीत औषधि बिक्री–वितरण गर्दै आइरहेका हुन् ।

‘कतिपय फार्मेसीले बिरामीको उपचार नै गरेर क्लिनिक चलाउँछन्, तर ती दर्ता नै भएका हुँदैनन्, पछिल्लो समय उपत्यकाबाहिरका फार्मेसीमा डाक्टरले नलेखेको औषधि बिरामीले मागेको भरमा वितरण भएको भेटिएको छ,’ विभागका एक औषधि अधिकृतले भने, ‘विभागले गत वर्ष केही फार्मेसीलाई कारबाही पनि गरेको थियो, तर अझै विभागको अनुगमन पुगेको छैन, विभागले चासो नदिँदा एन्टिबायोटिक औषधि पनि फार्मेसीहरूले मनपरी रूपमा बेचिरहेका छन्, कतिपय फार्मेसीले गलत औषधि दिँदा बिरामीको ज्यान पनि जाने गरेको छ ।’

सुझावित समाचार