रास्वपा सांसद कमल सुवेदीले सरकारले ल्याएको बजेटले निरन्तरताको क्रमभंगता गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सुवेदीले यस्तो जिकिर गरेका हुन्।
आफूले आर्थिक वर्ष ०७४/७५ देखि २०८२/८३ सम्मका बजेट वक्तव्यहरू अध्ययन गरेको उल्लेख गर्दै उनले केही राम्रा सुरुवात अघिल्ला सरकारहरूले गर्न खोजे पनि इच्छाशक्तिको अभावमा कागजमै सीमित भएकाे बताए।
‘विपक्षी बेन्चका माननीयज्यूहरूका कुरा पनि मैले निकै ध्यानपूर्वक सुनेँ। उहाँहरूले बजेटलाई परम्परागत भन्नुभयो। तर म भन्छु यो बजेट परम्पराको निरन्तरता होइन, बरु निरन्तरताको क्रमभंगता हो।’
रास्वपा सरकारले मन्त्रालय संख्या घटाएर फजुल खर्च कटौती गरी उत्पादनशील एवं तुलनात्मक लाभका क्षेत्रमा बजेट केन्द्रित गर्ने साहसिक सोच अघि सारेको उनको भनाइ थियो। ‘मुलुक अब भाषणले होइन, भिजन र एक्सनले चल्छ। हामीले सानैदेखि धेरै भाषण सुन्यौँ, आश्वासनका चाङ देख्यौं, तर काम कम भयो। राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकार भाषण कम र काम बढी गर्ने संकल्पका साथ अघि बढेको छ,’ उनले भने।
राम्रो कामको सुरुवात जसले, जहाँबाट र जहिले गर्दा पनि हुने उल्लेख गर्दै सांसद सुवेदीले भने, ‘संकुचित राजनीतिक चस्मा फुकालेर हेरौँ— राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना दुवै गर्न पाइन्छ। तर, आलोचना पूर्वाग्रहमा होइन, तथ्यमा टेकेर गरौँ।’