ओडारमा लुकाइराखेको पाँच नाल भरुवा बन्दुक बरामद

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

सल्यान कालीमाटी गाउँपालिका– ५ मा रहेको एक ओडारमा लुकाइराखेको अवैध पाँच नाल बरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। कालीमाटी गाउँपालिका– ५ जुमखोलास्थित हरियाली सामुदायिक वनभित्र रहेको एक ओडारबाट अवैध भरुवा बन्दुक  फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जंगलको ओडारमा भरुवा बन्दुक लुकाइछिपाई राखेको छ भन्ने सूचनाका आधारमा खोजतलास गर्दा पाँच नाल बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ । 

नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा 
यस्तै, प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने एक सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। बागचौर नगरपालिका– १०, मोखलास्थित शारदा  खोलामा बालुवा उत्खनन गरिरहेको अवस्थामा रा.१क ७१९ नम्बरको जेसिबी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बालुवा उत्खनन गर्ने जेसिबी चालक दार्मा गाउँपालिका– ५ का २४ वर्षीय रवि खड्कालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी देवराज भट्टराईले बताए। नियन्त्रणमा लिइएको सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बागचौर नगरपालिकामा पठाइएको उनको भनाइ छ ।  
 

सुझावित समाचार