भारतमा किन हुँदै छ नेहरू र मोदीको तुलना ?

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण
  • नेहरूको राजनीति र शासनले धर्मनिरपेक्ष राष्ट्रवादलाई प्रतिबिम्बित गर्थ्यो भने मोदीको शासनले हिन्दु राष्ट्रवादलाई

सत्तारुढ ‘भारतीय जनता पार्टी (भाजपा)’ले फेरि अर्को एक नयाँ राजनीतिक ‘कीर्तिमान’को उत्सव मनाइरहेको छ । देशका प्रमुख हिन्दु राष्ट्रवादी विचारकमध्ये एक राम माधवले इन्डियन एक्सप्रेसको आफ्नो नियमित स्तम्भका जुन ६ को संस्करणमा लेखे– ‘जुन १० का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार चार हजार ३९९ दिन पदमा रहेर प्रधानमन्त्रीका रूपमा जवाहरलाल नेहरूको चार हजार ३९८ दिनको रेकर्ड तोड्नेछन् ।’ 

यस कीर्तिमानको राजनीतिक महत्वलाई उजागर गर्न भाजपाले पार्टी अध्यक्ष नितिन नवीन र गृहमन्त्री अमित शाहको नेतृत्वमा नयाँदिल्लीको ‘भारत मण्डप’मा एक भव्य कार्यक्रम आयोजना गर्यो । तर, प्रधानमन्त्री मोदीले नेहरूले भन्दा लामो शासन गरेको दाबीमा स्वतन्त्र विद्वान्ले भने आश्चर्य मानेका छन् । आखिर, नेहरू १५ अगस्ट १९४७ देखि मे २७, १९६४ सम्म जम्मा १७ वर्ष प्रधानमन्त्री थिए, जबकि मोदी प्रधानमन्त्री भएको लगभग १२ वर्ष भयो । 

पदावधि कसरी गणना गरिएको छ भनेर ध्यान दिइयो भने यो भ्रम केही हदसम्म कम हुन्छ । राम माधवका अनुसार गणना सन् १९४७ बाट नभएर पहिलो आमचुनाव (१९५२)पछि नेहरू प्रधानमन्त्री बनेको दिनबाट सुरु हुनुपर्छ । हिन्दु राष्ट्रवादीहरूले बारम्बार दोहोर्याउने गरेको दाबीअनुसार महात्मा गान्धीले हस्तक्षेप नगरेको भएर बल्लभभाइ पटेल स्वतन्त्रतापछि (सन् १९४७) मा भारतका पहिलो प्रधानमन्त्री बन्ने थिए । शासन अवधिको यो हिन्दु राष्ट्रवादी गणनामा बहस गर्नु समयको नाश मात्र हो । 

तथ्यांकले जे भने पनि मोदीले भारतमा लामो समयदेखि शासन गर्दै आएको सत्य हो । तथापि, मोदी र नेहरूबिचको तुलना राजनीतिक र वैचारिक रूपमा महत्वपूर्ण छ । नेहरूले बिआर अम्बेडकरसँग मिलेर भारतमा संवैधानिक तथा धर्मनिरपेक्ष लोकतन्त्रको जग बसाल्न महत्वपूर्ण भूमिका खेले । र, मोदी हिन्दु राष्ट्रवादी व्यवस्था निर्माण गर्ने प्रयासमा लागिरहेका अग्रणी व्यक्तित्वमध्ये एक हुन् । 

तथापि, कठोर प्रयासका बाबजुद हिन्दु राष्ट्रवादले अझै संवैधानिक मान्यता पाउन सकेको छैन । सन् २०२४ को लोकसभा चुनावमा भाजपाले दुईतिहाइ बहुमत जितेको भए सम्भवतः संविधान फेरिन्थ्यो होला । तथापि, मोदीको शासन सुरु भएयता राजनीतिक रूपमा यो विचारले उल्लेखनीय प्रभाव बनाएको छ । मोदीले नेहरूले प्रतिनिधित्व गरेका सबै कुराको पूर्ण विपरीत विचारधारालाई प्रतिनिधित्व गर्छन् । 

सन् १९४० र १९५० को दशकमा भारतका मूलधारका बुद्धिजीवीले भाजपाको मातृसंस्था आरएसएस र सोनिकट हिन्दु महासभाले अपनाएको हिन्दु राष्ट्रवादलाई राष्ट्रवाद मान्दैनथे । उनीहरू ती समूहका विचारलाई ‘हिन्दु साम्प्रदायिक’ विचार भन्थे । त्यसैगरी, मोहम्मद अली जिन्ना र मुस्लिम लिगले बोकेको मुस्लिम राष्ट्रवादलाई ‘मुस्लिम साम्प्रदायिकता’ भनिन्थ्यो । यी दुई भारतका धार्मिक राष्ट्रवादका दुई धारा थिए । 

भारतमा सन् १९२० को दशकदेखि हिन्दु राष्ट्रवादको मुद्दालाई चर्कोसँग उठाउने व्यक्तित्व विनायक दामोदर सावरकर थिए । उनले हिन्दु राष्ट्रवादमा महत्वपूर्ण ऐतिहासिक पहलु पनि जोडे । सावरकरका अनुसार भारतमा ब्रिटिस शासन स्थापित हुनुअघि मुस्लिमले शासन गर्थे । राज्यशक्तिको आडमा मुस्लिम शासकले हिन्दुमाथि प्रभुत्व जमाएका थिए । त्यही तर्कका आधारमा हिन्दुले राज्यशक्तिको नियन्त्रण प्राप्त गरेपछि गैरहिन्दु, विशेषगरी मुस्लिममाथि प्रभुत्व स्थापित गर्नुपर्ने उनको तर्क थियो । भारतीय स्वतन्त्रता आन्दोलनका दुई प्रमुख नेता महात्मा गान्धी र अब्दुल कलाम आजाद धार्मिक प्रवृत्तिका व्यक्ति थिए । तर, दुवै धर्मनिरपेक्ष राष्ट्रवादका समर्थक बने । यस्तोमा मोदी नेहरूका मात्र राजनीतिक विरोधी नभई ती दुई नेता आजाद र गान्धीका पनि विरोधी हुन् । आफैँ हिन्दु धार्मिक अनुष्ठानको अभ्यास गर्ने गान्धी भन्थे, ‘कसैले भारतमा हिन्दुहरू मात्र बस्नुपर्छ भन्ने विश्वास गर्छ भने ऊ सपनाको संसारमा बाँचिरहेको छ । हिन्दु, मुस्लिम, पारसी र इसाई, जसले भारतलाई आफ्नो देश बनाएका छन्, ती सबै देशवासी हुन् ।’

त्यस्तै, जिन्ना र उनको पाकिस्तान निर्माण आन्दोलनको विरोध गर्ने मौलाना आजाद भन्थे, ‘म मुस्लिम हुँ र यसमा गर्व गर्छु । र, साथमा मलाई भारतीय हुनुमा पनि गर्व छ ।’ 

स्वतन्त्रतापछि भारतको संविधानले राज्यको धर्मनिरपेक्ष दृष्टिकोण अपनायो । संविधानले यसका लागि दुई प्रमुख सिद्धान्त अपनाएको थियो– सबै धर्मको समानता र सरकार धार्मिक रूपमा तटस्थ रहने । हिन्दुलाई कुनै विशेष अधिकार दिइएन । तर, अहिले सावरकरको दृष्टिकोण अँगालेका मोदी त्यसलाई उल्ट्याउन चाहन्छन् । नेहरूको राजनीति र शासनले धर्मनिरपेक्ष राष्ट्रवादलाई प्रतिबिम्बित गर्छ भने मोदीको राजनीति र शासनले हिन्दु राष्ट्रवादलाई प्रतिबिम्बित गर्छ । 

संविधान अझै पनि उल्लेखनीय रूपमा परिवर्तन भएको त छैन तर के हिन्दु राष्ट्रवादीले अन्ततः संविधान पनि परिवर्तन गर्लान् ? त्यस्तो गर्नु नेहरूको विरासत नामेट पार्नुजस्तै हुनेछ । मोदीले यस्तो परिवर्तन र जित खोज्नेछन् । तर, लोकतन्त्रको भविष्यवाणी गर्न सकिन्न । भारत र संसारका अन्य प्रजातान्त्रिक राजनीतिमा कैयौँ समय आममतदाताले शक्तिशाली नेताको योजनालाई निष्फल बनाएको इतिहास छ । 

(वार्ष्णेय ‘ब्राउन युनिभर्सिटी’का राजनीति विज्ञानका प्रोफेसर हुन्) 
द प्रिन्टबाट

See More On

सुझावित समाचार