वीरका आवासीय चिकित्सकलाई सुविधा : लगातार २४ घण्टा ड्युटीपछि एक दिन बिदा

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

वीर अस्पतालका आवासीय चिकित्सकले लगातार २४ घण्टाको ड्युटीपछि एक दिन बिदा पाउने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले २४ घण्टा लगातार ड्युटी गरेका आवासीय चिकित्सकलाई अनिवार्य रूपमा ‘पोस्ट–ड्युटी अफ’ उपलब्ध गराउन वीरलाई सोमबार निर्देशन दिएको हो ।

न्याम्सका सहायक डिन प्राडा विक्रम अधिकारीले अस्पताललाई परिपत्र जारी गर्दै २४ घण्टे ड्युटी पूरा गरेका आवासीय चिकित्सकलाई बिहानको वार्ड राउन्ड सकिएपछि बिदा दिन भनेका हुन् । यो नियम मंगलबारदेखि कार्यान्वयन हुनेछ । हाल प्रयोगात्मकका लागि भन्दै  आवासीय चिकित्सकलाई लगातार ३६ घण्टासम्म ड्युटीमा खटाइन्छ ।

निरन्तर काम गर्दा शारीरिक तथा मानसिक थकान भइरहेको भन्दै चिकित्सकले आराम गर्ने समय पनि दिनुपर्ने माग राख्दै आएका थिए । ‘डाक्टरले सिक्छ भन्दै अस्पतालले ३६ घण्टासम्म लगातार काम लगाएपछि बल्ल आराम गर्न दिइन्थ्यो । अहिले सुनुवाइ भएको छ,’ वीरका एक आवासीय चिकित्सकले भने ।

०८१ मा सरकार र आवासीय चिकित्सकबिच भएको निर्णयअनुसार आवासीय चिकित्सकको निर्वाह भत्ता ४८ हजार सात सय तोकिएको थियो । पछिल्लो दुई महिनायता वीरले निर्वाह भत्ता दिएको छैन । चिकित्सा शिक्षा आयोगबाट रकम नआएको भन्दै अस्पतालले आवासीय चिकित्सकको निर्वाह भत्ता रोकेको हो । 

पछिल्लो समय लगातार ड्युटीको दबाब, निर्वाह भत्ता नपाएको भन्दै वीरका आवासीय चिकित्सक आन्दोलित बनेका छन् । न्याम्सले २४ घण्टाको ड्युटीपछि एक दिनलाई बिदा दिने नियम कार्यान्वयन गरे पनि अन्य निर्वाह भत्ता भने दुई महिनादेखि आवासीय चिकित्सकले पाउन सकेका छैनन् । वीर अस्पतालका वरिष्ठ चिकित्सक डा. प्रकाश बुढाथोकीले आवासीय चिकित्सकले तलब समयमै हुनुपर्ने, ड्युटी आवर तोकिनुपर्ने, ड्युटी रुमको सहज व्यवस्था हुनुपर्ने, क्यान्टिन २४सै घण्टा खुल्नुपर्नेलगायत माग राखेका छन् । उनका अनुसार सोमबार आवासीय चिकित्सकसहित बसेको बैठकमा उनीहरूको सुविधाबारे छलफल भएको थियो ।

सुझावित समाचार