अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ ले स्पष्टै भनेको छ– पाँच सयसम्म विद्यार्थी भएका निजी विद्यालयले १० प्रतिशत, पाँच सयदेखि आठ सयसम्म विद्यार्थी भएकाले १२ प्रतिशत र आठ सयभन्दा बढी विद्यार्थी रहेका निजी विद्यालयले १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ । विपन्न, असहाय, दलित, जेहेनदार र अपांगता भएका विद्यार्थीलाई उक्त छात्रवृत्ति दिनुपर्ने ऐनमा व्यवस्था छ । ऐनले भनेअनुसार विद्यालय छात्रवृत्ति व्यवस्थित गर्न सके देशभर साढे दुई लाखभन्दा बढी विद्यार्थीले निःशुल्क पढ्न पाउने आँकडा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले केही वर्षअघि निकालेको थियो । तर, केन्द्र र स्थानीय सरकारकै कारण छातवृत्ति कार्यक्रम पूर्ण लागू हुन सकेको छैन भने निजी विद्यालयहरू आफैँले बनाएको मापदण्ड पालना गरेका छैनन् ।
देशभर आठ हजार ९४१ निजी विद्यालय छन्, जहाँ कक्षा १ देखि १२ सम्म २६ लाख ५७ हजार २३० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्याअनुसार १०, १२ र १५ प्रतिशतका दरले छात्रवृत्ति दिनुपर्छ । सबैको न्यूनतम १० प्रतिशत मात्रै हिसाब गर्दा पनि दुई लाख ६५ हजार ७२३ विद्यार्थीले छात्रवृत्ति पाउँछन् । तर, राजधानी काठमाडौंसहित सहरी क्षेत्रका केही स्थानीय तहबाहेकले शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा छात्रवृत्ति दिलाएको विद्यालय र विद्यार्थीको तथ्यांक पठाएका छैनन् । कतिपयले विद्यालयले पूर्ण छात्रवृत्ति नदिएकाले पनि तथ्यांक नपठाएको केन्द्र स्रोत बताउँछ ।
देशभरका ७५३ वटै स्थानीय तहलाई छात्रवृत्ति दिएका विद्यालय र विद्यार्थी संख्या अद्यावधिक गर्न भने पनि अधिकांशले पालिकाले सिस्टममा राख्न अटेरी गरेको केन्द्रका निर्देशक भक्त गोदारले बताए । ‘हामीले त माथिल्लो तहबाट नीतिगत सहयोग गर्ने हो, छात्रवृत्ति छनोट गर्नेदेखि शुल्क निर्धारण गर्नेसम्मको जिम्मा स्थानीय सरकारको हो । इमिस (विवरण राख्ने सफ्टवेयर)मा अधिकांश पालिका र विद्यालयले छात्रवृत्ति दिएको भनेर तथ्यांक राखेका छैनन्, यसमा कमजोरी पालिकाहरूकै हो,’ उनले भने, ‘देशभरका निजी विद्यालयमा १० प्रतिशतलाई मात्रै छात्रवृत्ति दिलाउने हो भने पनि दुई लाख ६५ हजार ७२३ विद्यार्थीले निःशुल्क पढ्न पाउने देखिन्छ ।’ गोदारका अनुसार देशभरका पालिकालाई निजी विद्यालयले दिने छात्रवृत्ति पारदर्शी बनाउन र लक्षित वर्गलाई दिन भनेर केन्द्रले पटक–पटक पत्राचार गरे पनि कार्यान्वयन गरेका छैनन् ।
छात्रवृत्तिको उद्देश्य विपन्न र सीमान्त वर्गका बालबालिकाले पनि महँगा निजी विद्यालयमा अध्ययनको अवसर पाउन् भन्ने हो । संवैधानिक व्यवस्थाअनुसार हाल माध्यमिक तह (१२ कक्षा)सम्मको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्छ । केन्द्र सरकारले कडी कडाउ गर्न सक्ने अवस्था छैन । तर, स्थानीय तहका जनप्रतिनिधि र विद्यालयको मिलेमतोमा आफैँले इच्छाएका विद्यार्थीलाई दिएर छात्रवृत्तिको दुरुपयोग भएको छ । कतिपय विद्यालयले ‘फेक’ नामसमेत राखेर छात्रवृत्तिको दुरुपयोग गर्दै आएको गुनासो सुनिने गरेको छ । पारदर्शी र व्यवस्थित नहुँदा छात्रवृत्तिको यकिन तस्बिर भने बाहिर आउन सकेको छैन । विद्यालय तहको छात्रवृत्ति कार्यक्रम व्यवस्थित गर्ने र छुट्याउने जिम्मा पालिकाकै भएकाले केन्द्रले हस्तक्षेप गर्न नसकेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गोदारले बताए ।
छात्रवृत्ति कार्यान्वयनमा देशभरमै उत्कृष्ट भक्तपुर नगरपालिकाले विद्यार्थीबिच परीक्षा नै गराएर प्रतिस्पर्धाबाट प्रदान गर्छ । त्यस्तै, काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा लिखित परीक्षा लिएर तथा कक्षा १ देखि १० सम्म चार सदस्य समिति बनाएर समितिले तयार पारेको सूचीका आधारमा छात्रवृत्ति प्रदान गर्छ । यस वर्षदेखि काठमाडौंको टोखा नगरपालिकामा पनि यो अभ्यास लागू हुँदै छ । तर ललितपुर, भरतपुर, पोखरा, वीरगन्ज र विराटनगर महानगरमै छात्रवृत्तिको एकीकृत नियम लागू हुन सकेको छैन । यी महानगरमा छात्रवृत्ति कार्यक्रम भद्रगोल छ ।
पोखरा महानगरले परीक्षा नगराई समितिमार्फत आधा विद्यार्थी सिफारिस गर्छ भने आधा विद्यार्थी विद्यालयले तोक्न पाउँछ । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले कक्षा ११ र १२ मा ५० प्रतिशत लिखित र ५० प्रतिशत प्रयोगात्मकलाई हेरेर छात्रवृत्ति दिन थालिएको बताए । तर, तल्लो तहमा भने यस्तो नियम नभएको उनको भनाइ छ । ‘कक्षा ११ र १२ मा केही व्यवस्थित गर्न सकेका छौँ, तर तल्लो तहमा व्यवस्थित गर्न सकिएको छैन,’ उनले भने, ‘राम्रो गर्ने प्रयास गरिरहेका छौँ ।’
भरतपुर महानगरमा कक्षा ११ र १२ मा परीक्षा लिएर छात्रवृत्ति दिँदै आए पनि कक्षा १ देखि १० सम्म विद्यालय प्रतिनिधि र वडाध्यक्षसहितको समितिले तोकेर पठाएको सूचीका आधारमा छात्रवृत्ति दिने गरिएको छ । भरतपुर महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले कक्षा ११ र १२ मा छात्रवृत्ति व्यवस्थित गरे पनि १० भन्दा तल थप व्यवस्थित गर्न आवश्यक रहेको बताए । ‘कक्षा ११ र १२ मा अनलाइनबाट नै फारम भराएर तोकिएका सिटमा लक्षित समूहबिच प्रतिस्पर्धा गराएर छात्रवृत्ति दिन्छौँ,’ उनले भने, ‘कक्षा १ देखि १० सम्म वडाध्यक्षसहितको शिक्षा समिति बनाएर छात्रवृत्ति दिइरहेका छौँ । यस वर्षको छनोट गर्ने काम भइरहेको छ, यसलाई अझ व्यवस्थित गर्न खोजिरहेका छौँ ।’
विराटनगर महानगरपालिकामा पनि छात्रवृत्ति कार्यक्रम भद्रगोल छ । यहाँ वडाध्यक्षको संयोजकत्वमा छनोट समिति बनाइएको छ । तर, विद्यालय र वडाध्यक्षको मिलेमतोमा विद्यार्थीको नाम सिफारिस गर्ने गरिएको छ । वीरगन्ज महानगरपालिकामा पनि छात्रवृत्ति प्रदान गर्ने तयारी उस्तै भद्रगोल छ ।
हाल देशका अधिकांश पालिकामा विद्यालय छात्रवृत्ति कार्यक्रम अपारदर्शी मात्रै छैन, पहुँच र नेताका छोराछोरीलाई पढाउने माध्यमसमेत बनिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को प्रश्नोत्तरमा बोल्दै काठमाडौं महानगरपालिकाले अपनाउँदै आएको छात्रवृत्ति मोडललाई देशभरका अन्य पालिकाहरूमा पनि लागू गरिने र पारदर्शी बनाइने बताएका थिए ।
शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यालय छात्रवृत्ति कार्यक्रमप्रति निजी विद्यालय खुसी नदेखिए पनि कानुनले गरेको व्यवस्था लागू गर्नुपर्ने बताउँछन् । ‘छात्रवृत्तिप्रति निजी विद्यालय त्यति खुसी देखिँदैनन्, तर कानुनले व्यवस्था गरेको छात्रवृत्तिप्रति निजी विद्यालय त्यति खुसी देखिँदैनन्, तर कानुनले गरेको व्यवस्था लागू गराउनुपर्छ,’ उनले भने, ‘तर, विद्यालय छात्रवृत्ति दिन योग्य र सक्षम छन् कि छैनन् भन्ने पनि होला । निजी विद्यालयले व्यवहारमा के गर्छन् र सरकारले लागू गराउन सक्छ कि सक्दैन भन्ने मुख्य कुरा हो ।’
यी हुन् छात्रवृत्तिमा लक्षित समूह
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार छात्रवृत्ति प्रदान गर्दा सबैलाई समेट्नुपर्छ । दलित, अल्पसंख्यक तथा लोपोन्मुख जाति वा समुदाय, सहिद तथा द्वन्द्वपीडितका सन्तान, जेहेनदार, विपन्न र अपांगता भएका बालबालिकालाई छात्रवृत्ति दिनुपर्छ । यसबाहेक अन्य वर्गलाई छात्रवृत्ति दिनैपर्ने भएमा पालिकाले बनाउने कार्यविधिमा समेट्न सक्छन् । काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावितलाई पनि छात्रवृत्तिको कोटा छुट्याउँदै आएको छ । छात्रवृत्ति सिफारिसका लागि पालिका, सम्बन्धित विद्यालय, अभिभावक प्रतिनिधि, पालिकाका प्रतिनिधिसहितको समिति बनाउन सकिने र विद्यार्थीको क्षमता, मूल्यांकनका आधारमा छात्रवृत्ति दिन सकिने अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा उल्लेख छ । यसलाई व्यवस्थित गर्न कतिपय पालिकाहरूले परीक्षा नै लिएर छात्रवृत्ति दिँदै आएका छन् । छात्रवृत्ति पारदर्शी र लक्षित समूहमा समेत पुग्ने गरेको छ । यसअघि मधेशका जिल्लामा छोरीहरूलाई विद्यालय भर्ना गराउन र बिचमै पढाइ छाड्ने दर घटाउन विभिन्न स्थानीय तह तथा केन्द्र सरकारबाट विशेष छात्रवृत्ति उपलब्ध गराइने भए पनि हाल रोकिएको छ ।
सांसदले नै गर्दै छन् छात्रवृत्तिको दुरुपयोग
कानुनतः सरकारले निजी विद्यालयमा छुट्याएको १०, १२ र १५ प्रतिशत छात्रवृत्ति निश्चित परिधिभित्र रहेर पालिकाले लक्षित वर्गमा कार्यान्वयन गर्नुपर्छ । तर, सांसदले आफूले रोजेका विद्यार्थीलाई सिधै निजी विद्यालयमा छात्रवृत्ति दिलाएर छात्रवृत्तिको दुरुपयोग गरेका छन् । एक उदाहरण हुन् रास्वपा सांसद केपी खनाल ।
खनालले पालिकासँग कुनै समन्वयसमेत नगरी सिधै निजी विद्यालयसँग सल्लाह गरेर एसइई पास गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने तयारी गरेका छन् । खनालले केही समयअघि आफ्नो निर्वाचन क्षेत्र कैलाली २ का ५५ गरिब, जेहेनदार र विपन्न परिवारका विद्यार्थीका लागि ‘एमपी स्कलरसिप प्रोग्राम’अन्तर्गत छात्रवृत्ति दिने घोषणा गरेका थिए, जुन निजी विद्यालयले उपलब्ध गराउने १० प्रतिशतअन्तर्गत नै हो । तर, सांसदले आफैँ विद्यार्थी तोकेर निजीमा छात्रवृत्तिमा पढाउने व्यवस्था कुनै कानुनमा पनि छैन ।
‘पढ्न नपाएकाहरूका लागि निजी विद्यालयसँग सहजीकरण गरेर छात्रवृत्ति दिने हो, त्यसका लागि मेरो सचिवालयले एउटा समिति बनाएको छ, त्यो समितिले निजी विद्यालयसँग सिधै समन्वय गरेर छात्रवृत्तिको १० प्रतिशत कोटामा विद्यार्थी तोक्छौँ,’ सांसद खनालले भने ।
छात्रवृत्ति दिलाउन ६ कानुनले नै पारेको छ स्पष्ट, तर छैन कार्यान्वयन
आर्थिक, भौगोलिक, सामाजिक तथा शारीरिक रूपमा पछाडि परेका बालबालिकालाई शिक्षामा विशेष अवसर दिनुपर्ने व्यवस्था नेपालको संविधान २०७२ ले नै व्यवस्था गरेको छ । संविधानले शिक्षालाई मौलिक हकका रूपमा व्याख्या गर्दै आधारभूत तहसम्मको शिक्षा निःशुल्क प्रदान गर्नुपर्ने व्यवस्थासमेत गरेको छ । तर, हालसम्म उक्त व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।
त्यसअघि शिक्षा ऐन, २०२८ मा सामुदायिक तथा संस्थागत विद्यालयमा छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ । ऐनअनुसार विपन्न, दलित, जनजाति, अपांगता भएका, द्वन्द्वपीडित तथा छात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । सोही ऐनअनुसार जारी भएको शिक्षा नियमावली, २०५९ मा संस्थागत (निजी) विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ । उक्त नियमावलीमा छात्रवृत्ति छनोट प्रक्रिया पारदर्शी र समावेशी हुनुपर्नेसमेत उल्लेख छ ।
विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका ०७४ ले पनि निजी विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति अनिवार्य प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ मा आधारभूत तथा माध्यमिक तहसम्म शिक्षा पहुँच सुनिश्चितताका लागि छात्रवृत्ति प्रदान गर्नुपर्ने उल्लेख छ । यस ऐनले अपांगता भएका, विपन्न, अनाथ, जोखिममा रहेका बालबालिकाका लागि विशेष अवसर दिनुपर्ने व्यवस्था गरेको छ । सोही ऐनअनुसार बनेको अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली, २०७७ ले विद्यार्थी संख्याका आधारमा निजी विद्यालयले १०, १२ र १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ । उक्त नियमावलीमा विशेष सुविधा, आवासीय सहायता तथा शैक्षिक सहयोगको कार्यविधि स्पष्ट बनाएर कार्यान्वयन गर्न र एउटै शीर्षकमा दोहोरो सुविधा लिन नहुने उल्लेख गरिएको छ ।
संघीयतापछि विद्यालय तहको शिक्षा स्थानीय तहमा पुग्यो । त्यसपछि जारी भएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नगरपालिका र गाउँपालिकाहरूलाई छात्रवृत्ति वितरण, शैक्षिक कार्यक्रम सञ्चालन र विद्यालय व्यवस्थापनसम्बन्धी अधिकार प्रदान गरेको छ । ऐनअनुसार स्थानीय तहले आफ्नै छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गर्न पाउँछन् । तर, आफैँले छात्रवृत्ति दिन नसकेका पालिकाहरूले निजी विद्यालयले दिनैपर्ने १० प्रतिशत छात्रवृत्ति सुविधासमेत कार्यान्वयन गराउन सकेका छैनन् ।
छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गराउन पालिका संघको निर्देशन
नगरपालिका संघले हाल सबै पालिकाहरूलाई संघीय कानुनअनुसार नै छात्रवृत्ति कार्यक्रम लागू गराउन निर्देशन दिएको छ । तर, सबैमा लागू हुन नसकेको संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले बताए ।
‘कतिपय पालिकाहरूले आ–आफ्ना कानुन बनाएर छात्रवृत्ति दिनुभएको छ, कतिपयमा लागू हुन सकेको छैन,’ उनले भने, ‘हामीले तोकिएको छात्रवृत्ति दिनैपर्छ भनेर निजी विद्यालयहरूलाई भनिरहेका छौँ, विद्यालयसँग सूची पनि माग गरिरहेका छौँ, ऐनमा व्यवस्था भएअनुसार छात्रवृत्ति कार्यक्रम पालिकाहरूले लागू गराउनुपर्छ ।’
आफैँले बनाएको मापदण्ड पालना गर्दैनन् निजी विद्यालय, भन्छन्– पूर्ण छात्रवृत्ति दिन सकिँदैन
संस्थागत (निजी) विद्यालयकै सहभागितामा संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०६९ जारी भयो । उक्त मापदण्डमा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी जेहेनदार विपन्न, अपांग, महिला, दलित, जनजाति आदि विद्यार्थीलाई दिनुपर्ने व्यवस्था छ । सो मापदण्ड शिक्षा मन्त्रालयले निजी विद्यालयको सहभागितामा निर्माण गरिदिएको थियो । तर, निजी विद्यालयले आफैँ सहभागी भएर बनाएको मापदण्ड पालना गर्न अटेरी गरिरहेका छन् ।
शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअगावै शिक्षा विभागले १०% छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थी/अभिभावकले सम्बन्धित विद्यालयमा दरखास्त पेस गर्न २५ दिनको म्याद दिनुपर्ने मापदण्ड छ । हिमाली जिल्लाको सन्दर्भमा अध्ययनरत विद्यार्थीहरूबाटै उल्लेखित आधारमा आवश्यक प्रक्रिया पुर्याई छात्रवृत्ति प्रदान गर्नुपर्ने उल्लेख छ ।
तर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का निवर्तमान अध्यक्ष डिके ढुंगानाले पूर्ण छात्रवृत्ति लागू गर्न नसकिने बताए । ‘हामीले छात्रवृत्ति दिएका छौँ, तर पूर्ण निःशुल्क गर्न सकिँदैन । छात्रवृत्तिभित्रका सीमित विद्यार्थीलाई पूर्ण निःशुल्क पनि होला, तर १० प्रतिशतमा पर्ने सबैलाई पूर्ण निःशुल्क गर्न सकिँदैन,’ उनले भने, ‘विद्यार्थी बोक्न गाडी जान्छ, खाद्यान्न जोडिन्छन्, ट्युसन जोडिन्छ, यो त विद्यार्थीले बुझ्नुपर्छ । छात्रवृत्तिमा पढ्ने १० प्रतिशतको भर्ना, वार्षिक र मासिक शुल्क भने छात्रवृत्तिमा समेटिएको छ ।’ तर, सरकारले तोकेको छात्रवृत्तिले भने विद्यालयले तोक्ने कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको छ ।