बर्दियामा विद्यार्थीको लागि राष्ट्रिय सेवा दलको तालिम

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

बर्दियाको मधुवन नगरपालिका, सूर्यपटुवामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दलको तालिम सुरु गरेको छ । सोमबार बिहान एक औपचारिक कार्यक्रम गरेर सूर्यपटुवामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दलको तालिम सुरु गरेको हो । 

राष्ट्रिय सेवा दलको वार्षिक क्यालेन्डरअनुसार त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूमध्ये NCC तालिमको लागि छनोट भएका क्याडेट छात्र-१५, छात्रा-१५ गरी जम्मा ३० जना क्याडेटहरूलाई तालिम दिन लागिएको नेपाली सेनाले जनाएको छ। 

बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ जबर जंग गणका गणपति प्रमुख सेनानी दीपेन्द्र शाहीले तालिममा सहभागी क्याडेटहरूलाई  तालिमको सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूको बारेमा जानकारी दिए। 

उनले भने, 'राष्ट्रिय सेवा दलमार्फत दक्ष युवा समूह निर्माण गर्दै देशका विभिन्न स्थानहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवालाई एकताबद्ध बनाउँदै आफ्नो अनुभव आदानप्रदान गर्ने, अनुशासित, इमानदार र जिम्मेवार नागरिकको रूपमा युवाहरूलाई परिभाषित गर्न तालिम महत्वपूर्ण हुनेछ।'


प्रमुख सेनानी शाहीले निकुञ्जआसपासको क्षेत्रमा हुने मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा सामाजिक सुरक्षामा युवाहरूको भूमिकाबारेमा समेत प्रकाश पार्नुका साथै तालिममा सहभागी NCC क्याडेटहरूलाई  सफलतापूर्वक तालिम सम्पन्न गर्न शुभकामना दिए।

सुझावित समाचार