गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री जितप्रसाद शेरचनले प्रदेश सभा बैठकमा सोमबार प्रदेशको बजेट प्रस्तुत गरेका हुन्।
चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट एक अर्ब दुई करोडले बढी हो। प्रदेश सरकारले चालू आवमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएको थियो।
प्रदेश सरकारले चालूतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ (३८.५६ प्रतिशत), पूँजीगततर्फ २० अर्ब दुई करोड ६१ लाख २२ हजार रुपैयाँ (६०.६८ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ २५ करोड (०.७६ प्रतिशत) विनियोजन गरेको छ। चालू आवकोभन्दा आगामी वर्षका लागि चालुतर्फको बजेट केही घटाइएको छ भने पुँजीगततर्फको बजेट बढाइएको छ। चालू आवमा चालूतर्फ कुल बजेटको ३९.५ प्रतिशत, पुँजीगततर्फ ५९.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ०.८ प्रतिशत विनियोजन गरिएको छ।
आगामी आवको बजेटमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४ हजार, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, ससर्त अनुदानबाट तीन अर्ब ९३ करोड तीन लाख, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख र विशेष अनुदानबाट ३९ करोड ५४ लाख प्राप्त हुने छ।
यसैगरी, प्रदेशले आफ्नो आन्तरिक राजस्व परिचालनबाट पाँच अर्ब ४ करोड १ लाख ५२ हजार संकलन गर्ने लक्ष्य राखेको छ। चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात दुई अर्ब नगद मौज्दात रहने अनुमानसँगै न्यून हुने एक अर्ब ७५ करोड आन्तरिक ऋण परिचालनबाट पूर्ति गरिने बताइएको छ।
हेर्नुहाेस् पूर्णपाठ :