कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले आगामी आवको बजेट प्रस्तुत गरेका हुन्।
सरकारले पुँजीगत खर्चका लागि २० अर्ब ७५ करोड ९९ लाख, चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख र वित्तियतर्फ १५ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले चालु आर्थिक बर्षको विनियोजन बजेटभन्दा करिब १२.७३ प्रतिशत अर्थात ४ अर्ब ५६ करोड ९९ लाख रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो।
कोशी सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँबरावरको बजेट ल्याएको थियो। जसमा चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पुँजीगततर्फ १७ अर्ब ६७ करोड ६५ लाख र वित्तिय व्यवस्थातर्फ १० करोड विनियोजन गरेको थियो।
अल्लोकाे झोलामा बजेट
सोमबार प्रदेश सभामा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री लिङथेपले अल्लोको झोलामा बजेट ल्याएका थिए। कोशी प्रदेशको उत्पादनलाई प्राथमिकता दिने नीति अनुसार प्रदेशभित्रै उत्पादन भएको झोला बजेट ल्याउन प्रयोग गरेका हुन्।
कोशी प्रदेश सरकारले मातहतका कर्मचारीहरुलाई हप्तामा दुई दिन अनिवार्य कोशी प्रदेशमै उत्पादन हुने अल्लो, ढाकालगायतका कपडाहरुको पोशाक लगाउन प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ। गत बर्ष इलामका मन्त्री रामराना मगरले स्थानीय उत्पादन ढाका कपडाको झोलामा ल्याएको बजेट प्रस्तुत गरेका थिए।
कोशी प्रदेशमा शंखुवासभा, धनकुटा, भोजपुर, तेह्रथुम, सोलुखुम्बुलगायतका हिमाली र पहाडी जिल्लामा प्राकृतिक रुपमा अल्लो उत्पादन हुने गर्दछ। त्यसमा शंखुवासभा सबैभन्दा बढि अल्लो उत्पादन गर्ने जिल्लाका रूपमा चिनिन्छ।