भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
मन्त्री लम्सालले सडकमा रहेका विद्युतका पोल हटाउन ढिलाइ गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै धादिङका सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा काम नगर्ने ठेकेदारलाई ‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्ति दिएका हुन्।
अनुगमनका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, आयोजना प्रमुखलगायत सरोकारवाला अधिकारीहरूलाई निर्माण कार्यलाई तीव्रता दिन उनले निर्देशन दिएका छन्। नागरिकले काम छिटो सम्पन्न भएको हेर्न चाहेको उल्लेख गर्दै आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा निर्माण कार्य समयमै सम्पन्न गराउन सम्बन्धित निकायलाई उनले निर्देशन दिए।
‘यो बिजुलीको पोल सार्ने कन्ट्र्याक्टर धर्तीमा कहाँ छ, खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँचिदिनू, मतलब भएन,’ मन्त्री लम्सालले भने। उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले सडक आयोजनामा भइरहेको ढिलाइप्रति मन्त्रीको असन्तुष्टि र कडा चेतावनीका रूपमा यसलाई व्याख्या गरेका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिबाट हिंसात्मक आशय झल्किने भाषा प्रयोग गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन्।
अनुगमनका क्रममा मन्त्री लम्सालले आयोजनामा देखिएका प्रशासनिक तथा प्राविधिक अवरोध हटाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताएका छन्। राष्ट्रिय महत्त्वको नागढुंगा–मुग्लिङ सडक आयोजना समयमै सम्पन्न गर्न सरकार, निर्माण कम्पनी, नेपाल विद्युत् प्राधिकरण तथा स्थानीय प्रशासनबिच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।
पछिल्लो समय बिटुमिन अभावका कारण प्रभावित बनेको आयोजनाको काम अहिले पुनः तीव्र गतिमा अघि बढिरहेको छ।