प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल सुरु

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथिको विस्तृत छलफल सुरु भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नौ मन्त्रालयका विनियोजन शीर्षकलाई समूहीकृत रूपमा प्रस्तुत गर्दै छलफल अघि बढाइएको हो।

आजको बैठकमा युवा तथा रोजगार, उद्योग–वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, संस्कृति–पर्यटन तथा नागरिक उड्डयन, शिक्षा–खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था–सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकमाथि सांसदहरूले धारणा राख्नेछन्।

सभामुख डोलप्रसाद अर्यालले शून्य र विशेष समय नराखिएको जानकारी दिँदै खर्च कटौती प्रस्ताव दर्ता गरेका सांसदहरूलाई आफ्नो प्रस्तावसहित छलफलमा सहभागी हुने समय उपलब्ध गराएका छन्।

बैठकको कार्यसूचीअनुसार सांसद कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल र एशुदाकुमारी बरालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकअन्तर्गतको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गरेका थिए। बजेटमाथिको सामान्य छलफल तथा अर्थमन्त्रीको जवाफ दिने प्रक्रिया सम्पन्न भइसकेको छ।

बैठकको प्रारम्भमा सभामुख अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेरसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

सुझावित समाचार