एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा

पार्टी फुटाउने प्रयास भइरहेको अध्यक्ष ओलीको दाबी

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण
एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा

युवा संघको पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष केपी ओली

एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई  निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटीसम्म पुगेको छ । केन्द्रीय सचिवालयद्वारा गठित ‘चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले आयोजना गरेको बागमती प्रदेशस्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको हो । 

शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न भेलामा पार्टीभित्र देखिएको ध्रुवीकरण खुला रूपमा सतहमा आएको सहभागी नेताहरूले बताएका छन् । बागमती भेलाबाट पुनर्गठनको पक्ष–विपक्षमा खुलेर बहस सुरु हुँदा अध्यक्ष ओलीमाथि दबाब बढेको छ । तर, आफू नेतृत्वमा रहेको वेला पार्टीलाई ठुलो धक्का लागे पनि ओली अहिलेसम्म नेतृत्व हस्तान्तरणको पक्षमा छैनन् । 

भेलाको उद्घाटन सत्रमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीभित्र नेतृत्व परिवर्तन र वर्तमान नेतृत्वको निरन्तरताबिच दुई धार देखिएको उल्लेख गरेका थिए । नेतृत्व कायमै र पार्टी एकता केन्द्रमा राखेर सुझाव दिन आग्रह गरेका थिए । ‘प्रतिक्रान्तिको अवस्थामा पार्टीभित्र अध्यक्षलाई हटाउने र नेतृत्वको रक्षा गर्ने दुईलाइन संघर्ष देखापरेको छ । पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर कमजोरी सच्चिने गरी सुझाव दिनुहोला,’ बादलले भनेका थिए ।

थापाले नै दुईलाइन संघर्ष अघि बढेको सन्देश दिएका कारण पनि सहभागीलाई सुझाव दिन सहज बनाएको थियो । अर्को दिन उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टीलाई पुनर्गठनको दिशामा अघि बढाउनुपर्ने धारणा राखेका थिए । साथै, उनीहरूले पुनर्गठनलाई व्यक्तिविशेषसँग जोडेर होइन, संगठनात्मक आवश्यकता र बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा हेर्नुपर्ने बताएका थिए । 

उपाध्यक्ष पौडेलले पार्टी पुनर्गठनसम्बन्धी निर्णय सचिवालयबाट भइसकेको भन्दै त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा सुझाव केन्द्रित गर्न आग्रह गरेका थिए । ‘पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर अघि बढाउनुपर्ने निष्कर्षमा नेतृत्व पुगेको छ । त्यसकारण पुनर्गठनको विरोध वा समर्थनभन्दा पनि कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्नेमा सुझाव दिनुपर्छ,’ उनले भनेका थिए । पौडेलको यस्तो निर्देशनपछि नै बैठकमा धेरैलाई खुलेर बोल्न सहज बनेको एक नेताले बताए ।

यस्तै, महासचिव पोखरेलले पनि यथार्थ मूल्यांकन गरेर सुझाव दिन आग्रह गर्दै पार्टी गम्भीर चुनौतीको मोडमा रहेको बताएका थिए । ‘पार्टी अहिले गम्भीर अवस्थामा छ । यस्तो वेला पार्टीलाई कसरी अगाडि बढाउने पार्टी र आन्दोलनलाई केन्द्रमा राखेर तपाईंहरूले यथार्थ कुरा राख्नुस् । अहिलेकै अवस्थामा यसरी नै पार्टी चल्न सक्दैन, राम्ररी सोच्न सकिएन, सबै ठिक छ जसरी धारणा राख्न थालियो भने पार्टी दुर्घटनामा जान पनि सक्छ,’ पोखरेलको भनाइ थियो । पौडेल र पोखरेलले ओलीलाई हटाएर पार्टीलाई पुनर्गठनको दिशामा लैजानुपर्ने ‘राजनीतिक लाइन’ सम्प्रेषण गरेपछि ध्रुवीकरण खुला बन्दै गएको छ । अर्कोतर्फ पौडेल र पोखरेलले नै आफूलाई हटाउने लाइनको औपचारिक नेतृत्व गर्न लागेको जानकारीपछि अध्यक्ष ओली आक्रोशित छन् र आगामी दिनका ‘पोजिसन’ स्पष्ट पारेका छन् । 

ओलीले भने आफू महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले नेतृत्व परिवर्तनको बहसलाई सहज रूपमा नलिने संकेत दिएका छन् । बागमती भेलापछि शनिबार साँझ आफ्नै निवासमा प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूसँगको भेटमा उनले पार्टी फुटाउने प्रयास भइरहेको भन्दै सतर्क रहन आग्रह गरेका थिए । 

‘अहिले एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ । तर, पुनर्गठनको नाममा पार्टीलाई फेरि एकपटक विभाजनतर्फ लैजाने प्रयास भइरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘ तपाईंहरूले देख्नुभएको छ, अहिले पार्टीभित्रै केही लोभीपापी देखिए, त्यसैले म अहिलेलाई रामराम मात्रै भन्न सक्छु, तर काँधै त थाप्न सक्दिनँ ।’

ओलीले आफूले कुनै गल्ती नगर्दा पनि हटाउन खोजिएको भन्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललक्षित आक्रोश पोखेको ती केन्द्रीय सदस्यले बताए । ‘मैले के गल्ती गरेको छु र अध्यक्षबाट हटाउन ? तर, म सबै कुरा केन्द्रीय कमिटीमा बताउँछु, त्यहीँ फेस गर्छु,’ उनको भनाइ थियो । भेलामा बोल्ने अधिकांश नेताले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । पहिलो र दोस्रो पुस्ताका नेताहरूले बिदा लिएर तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्दा अझ राम्रो हुने धारणा राखेका थिए । 

भेलामा नेता आनन्दप्रसाद पोखरेल, गोकुल बाँस्कोटा, सुभाष कर्माचार्य, कृष्णभक्त पोखरेललगायतले पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका थिए । उनीहरूले बदलिएको राजनीतिक परिस्थिति, पछिल्ला निर्वाचन परिणाम र संगठनात्मक चुनौतीलाई ध्यानमा राख्दै एमालेलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने बताएका थिए । 

बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलका अनुसार अधिकांश सहभागीले पुनर्गठन आवश्यक भए पनि त्यसका लागि स्पष्ट रोडम्याप तयार गर्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार भेलामा पुनर्गठनको आवश्यकता स्वीकार गर्ने र विधि–प्रक्रियाबाहिर गएर कुनै कदम चाल्न नहुने दुवै विषयमा व्यापक सहमति देखिएको थियो ।

‘पुनर्गठनको बहसलाई व्यक्तिकेन्द्रित बनाउनुहुँदैन । यदि पुनर्गठन गर्ने हो भने केन्द्रीय तहदेखि जिल्ला तहसम्म कुन संरचनामा, कसरी र कुन समयसीमाभित्र जाने भन्ने स्पष्ट खाका आवश्यक छ । साथै, सबै प्रक्रिया पार्टीको विधान, विधि र संस्थागत निर्णयभित्रै रहेर अघि बढ्नुपर्छ भन्ने साझा धारणा देखियो,’ उनले भने । यस्तै, बाँस्कोटाले भनेका थिए, ‘हामीले एमाले बचाउने कि अध्यक्ष ? पार्टीलाई पुनर्गठनमा लैजान अध्यक्षले नछोड्ने हो भने केपी ओली र एमालेमध्ये एउटा मात्रै रहन्छ । त्यसैले हामीले एमाले रोज्ने कि अध्यक्ष रोज्ने छनोट गर्ने अवस्थामा पुगेका छौँ ।’

ओलीको निरन्तरताको पक्षमा केन्द्रीय सदस्यहरूमध्ये प्रदीप कटुवालले उपाध्यक्ष पौडेल र महासचिव पोखरेललाई व्यंग्य गर्दै धारणा राखेका थिए । ‘हिजो जसले अध्यक्षबाट धेरै संरक्षण पायो, जसले धेरै अवसरहरू पनि लियो, आज तिनै पात्रहरूले उहाँलाई हटाउन पुनर्गठनको कुरा गरेको देख्दा मलाई साह्रै दिक्दारी लागेको छ,’ कटुवालले भनेका थिए । 

राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण पोखरेलका अनुसार एमालेभित्रको बहस नेतृत्व परिवर्तन मात्र नभई पार्टीको भावी दिशा र संरचनासँग पनि जोडिएको छ । ओलीले नेतृत्वबाट पछि हट्ने संकेत नदिनु उनको राजनीतिक शैली रहेको खनालको विश्लेषण छ । साथै, पार्टीभित्र देखिएको बहस आगामी दिनमा अझ स्पष्ट भएर सतहमा आउने सम्भावना रहेको उनको बुझाइ छ । 

‘इतिहासको पदचिह्न भित्तामा लेखिएको अक्षर पढेर पनि अहिले केपी ओलीले बुझ पचाइरहेका छन् । भित्ताको अक्षरले छोड भनिरहेको छ । दायाँ–बायाँका शंकर पोखरेल र विष्णु पौडेलले पनि छाडिसकेको अवस्थालाई पनि उनी बुझ्न तयार छैनन् । अकल्पनीय पराजयले मार्गप्रशस्त गर्नका लागि सन्देश दिइरहे पनि उनी मान्न तयार देखिँदैनन् । यसरी नबुझ्नु, पराजय स्वीकार नगर्नु उनको स्वभावकै रूपमा प्रकट भएको छ,’ पोखरेल भन्छन्, ‘अर्कोतिर, मनमा भयले काम गरिरहेको छ । अध्यक्ष छाड्दा सरकारको छानबिन र कारबाहीमा कांग्रेसमा देउवालाई जस्तै आफूलाई पनि पार्टीले प्रतिरक्षा गर्दैन कि भन्ने डर छ । अझै लोकप्रिय छु, केन्द्रीय कमिटीबाट आफ्नै निरन्तरताको निर्णय गराउँछु, त्यसो नभए प्रचण्डसँग एकता गर्ने गरी विद्या भण्डारीको कार्ड अघि सार्छु भन्ने लागेको पनि हुन सक्छ । किनभने प्रचण्डले पनि एकता नगरी अब धरै छैन भन्ने राम्ररी बुझिसकेका छन् ।’ 

 विश्लेषक कृष्ण पोखरेल भन्छन्–अकल्पनीय पराजयले मार्गप्रशस्त गर्न  भने पनि ओली मान्न तयार देखिँदैनन् 
इतिहासको पदचिह्न भित्तामा लेखिएको अक्षर पढेर पनि अहिले केपी ओलीले बुझ पचाइरहेका छन् । भित्ताको अक्षरले छोड भनिरहेको छ । दायाँ–बायाँका शंकर पोखरेल र विष्णु पौडेलले छाडिसकेको अवस्थालाई पनि उनी बुझ्न तयार छैनन् । अकल्पनीय पराजयले मार्गप्रशस्त गर्नका लागि सन्देश दिइरहे पनि उनी मान्न तयार देखिँदैनन् । यसरी नबुझ्नु, पराजय स्वीकार नगर्नु उनको स्वभावकै रूपमा प्रकट भएको छ । अर्कोतिर, मनमा भयले काम गरिरहेको छ । अध्यक्ष 
छाड्दा सरकारको छानबिन र कारबाहीमा कांग्रेसमा देउवालाई जस्तै आफूलाई पनि पार्टीले प्रतिरक्षा गर्दैन कि भन्ने डर छ । अझै लोकप्रिय छु, केन्द्रीय कमिटीबाट आफ्नै निरन्तरताको निर्णय गराउँछु, त्यसो नभए प्रचण्डसँग एकता गर्ने गरी विद्या भण्डारीको कार्ड अघि सार्छु भन्ने लागेको पनि हुन सक्छ । 

बागमती प्रदेशस्तरीय भेलामा उपाध्यक्ष रामबहादुर थापा बादलले भने– प्रतिक्रान्तिको अवस्थामा पार्टीभित्र अध्यक्षलाई हटाउने र नेतृत्वको रक्षा गर्ने दुईलाइन संघर्ष देखापरेको छ । एकतालाई केन्द्रविन्दुमा राखेर कमजोरी सच्चिने गरी सुझाव दिनुहोला ।

भेलामा महासचिव शंकर पोखरेलले भने–पार्टी अहिले गम्भीर अवस्थामा छ । यस्तो वेला कसरी अगाडि बढ्ने पार्टी र आन्दोलनलाई केन्द्रमा राखेर तपाईंहरूले यथार्थ कुरा राख्नुस् । अहिलेकै अवस्थामा पार्टी चल्न सक्दैन । राम्ररी सोच्न सकिएन र ‘सबै ठिक छ’ भन्न थालियो भने पार्टी दुर्घटनामा जान पनि सक्छ ।

सुझावित समाचार