परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेका छन् । परराष्ट्रमन्त्री खनालले सोमबार आफ्नो चिनियाँ समकक्षी वाङ यीसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तामा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहयोग तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयको एसिया विभागका अधिकारीले स्वागत गरेका थिए । खनाल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखा प्रमुख भृगु ढुंगाना, कार्यवाहक राजदूत रोशन खनाल, उपसचिव मधुसूदन भट्टराईलगायत सहभागी छन् ।
परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो चीन भ्रमण हो । दक्षिणी छिमेकी भारतको भ्रमण सम्पन्न गरेको एक सातापछि उनी उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा पुगेका हुन् ।बेइजिङमा उनले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गरेका छन् । नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार उनले दूतावासपरिसरमा वृक्षरोपणसमेत गरेका छन् । कार्यवाहक नेपाली राजदूत खनालले परराष्ट्रमन्त्रीलाई नेपाल–चीन सम्बन्ध तथा त्यहाँको नियोगमा रहेका समस्याबारे जानकारी दिएकी छिन् ।
दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले चीनसँग नेपालको दूरी टाढा नभएको उल्लेख गर्दै दुई देशको निकटतालाई नेपालको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । ‘नेपाल र चीनबिचको दूरी धेरै छैन । बेइजिङबाट प्रत्यक्ष उडान नभए पनि ट्रान्जिटमार्फत ६–७ घण्टामै नेपाल पुग्न सकिन्छ । यो निकटता र हाम्रो ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई हामीले नेपालको हितमा प्रयोग गर्नुपर्नेछ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘यसका लागि तपाईंहरू (चीनमा रहेका नेपाली समुदाय)को साथ चाहिएको छ ।’
सुशासन र आर्थिक विकासलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै देश एकै दिनमा बन्न नसक्ने पनि बताए । ‘जसरी रोम एकै दिनमा बनेको थिएन भनिन्छ, त्यसैगरी नेपाल पनि केही व्यक्तिले एकै दिनमा बनाउन सक्दैनन् । नेपालभित्र र बाहिर रहेका सबै नेपालीको प्रयासबाट मात्रै सम्भव छ,’ परराष्ट्रमन्त्री खनालले भने ।
भ्रष्टाचारको विरोध र निर्मूलीकरणको नारा आफूहरूले विगतमा लगाएको उल्लेख गर्दै खनालले भने, ‘हामीले पुराना र ठुला भ्रष्टाचारका काण्डहरूको छानबिन हुनुपर्छ भन्ने वाचा गरेका थियौँ । अहिले हाम्रो सरकार बनिसकेपछि बनेको एउटा कार्यदलले ०६३ पछिका भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिनको प्रक्रिया अगाडि बढाएको छ ।’ उनले सरकारले दिने सार्वजनिक सेवा प्रवाह विनाझन्झट र सहज रूपमा नागरिकले प्राप्त गर्नुपर्ने कुरामा सरकारले प्राथमिकता दिएको पनि बताए । ‘यसका लागि हामीले डिजिटाइजेसन र प्रविधिको प्रयोगमा जोड दिएका छौँ,’ उनले भने ।
खनालले आफ्नो पेसागत संलग्नतामार्फत नेपालीले नेपालको चिनारी बढाएको बताए । ‘आज चीन विश्वको जुन स्थानमा छ, यस्तो मुलुकमा आएर आफ्नो क्षमता, ज्ञान र सिपलाई तपाईंहरूले जसरी प्रयोग गरिरहनुभएको छ, त्यो आफैँमा पनि नेपालको प्रतिनिधित्व हो । यहाँहरूले आफ्नो पेसागत संलग्नतामार्फत चीन र विश्व समुदायलाई पु¥याइरहनुभएको योगदानले नेपाल र नेपालीको चिनारी बढाएको छ,’ उनले भने ।