शिक्षा र स्वास्थ्यको तीन प्रतिशत शुल्क फिर्ता हुनुपर्छ : गगन थापा

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण
शिक्षा र स्वास्थ्यको तीन प्रतिशत शुल्क फिर्ता हुनुपर्छ : गगन थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले बजेटमार्फत नागरिकलाई कर छुट दिएकोजस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको बताएका छन्। मध्यम वर्गीय परिवारलाई राहत दिने दाबी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएकोभन्दा धेरै रकम फिर्ता लिएको थापाले आरोप लगाए।

आइतबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। उनका अनुसार व्यक्तिगत आयकरको सीमा बढाएर केही राहत दिएको भनिए पनि अन्य क्षेत्रबाट थप शुल्क र कर लगाउँदा नागरिकको खर्च झन् बढ्ने अवस्था सिर्जना भएको छ।

थापाले सरकारले अगाडिको खल्तीमा रकम राखिदिएको देखाए पनि पछाडिको खल्तीबाट चुपचाप निकाल्ने काम गरेको टिप्पणी गरे। ‘निजी विद्यालयमा अध्ययन गराउनु अधिकांश परिवारका लागि विलासिता नभई बाध्यता हो,’ उनले भने, ‘सामुदायिक विद्यालयलाई पर्याप्त रूपमा प्रभावकारी बनाउन नसकिएको अवस्थामा निजी विद्यालयमा लगाइएको समता शुल्कको भार अन्ततः अभिभावकमा पर्छ।’

थापाले सरकारी अस्पतालमा पर्याप्त सेवा र शय्या अभावका कारण धेरै नागरिक निजी अस्पताल जान बाध्य रहेको अवस्थामा निजी अस्पतालमार्फत बिरामीमार्फत सरकारले कर असुल्ने नीति लिएकोमा पनि आपत्ति जनाए। विद्युत् उपभोगमा ५० युनिटभन्दा माथि भ्याट लगाउने व्यवस्थाले पनि मध्यम वर्गीय परिवारको मासिक खर्च बढ्ने उनले उल्लेख गरे।

त्यसबाहेक सरकारले बजारबाट ठुलो परिमाणमा राजस्व संकलन गर्ने लक्ष्य राखेकाले बैंकको ब्याजदर, ऋणको किस्ता तथा समग्र मूल्यवृद्धिमा समेत दबाब बढ्न सक्ने सभापति थापाले औँल्याए।

सुझावित समाचार