तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गर्दा पाँचजनालाई रिलिज गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरअनुसार हुने प्रतियोगिताको तेस्रो संस्करणको मिति तय भइ नसकेपनि टोलीहरु भने तयारीमा जुटेका छन्। सोही क्रममा पोखराले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै अघिल्लो संस्करणमा रहेका खेलाडी नयाँ संस्करणमा टिममा रहने नरहनेबारे जानकारी दिएको हो।
दोस्रोे संस्करणका मार्की खेलाडी भुर्तेलसहित अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरण कुमार ठगुन्नालाई टोलीले तेस्रो संस्करणमा पनि निरन्तरता दिने भएको छ। तर कृष्ण पौडेल, तृतराज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र रोहित चन्द भने रिलिज भएका छन्।
तेस्रो संस्करणलाई बलिया र प्रतिस्पर्धात्मक टोली निर्माणका लागि आफ्नो कोर समूहलाई कायम राख्ने निर्णय भएको विज्ञप्तीमा जनाइएको छ। टोलीकी अधिकृत पुजा अधिकारीका अनुसार अनुभव, प्रतिभा र सम्भावनाको सन्तुलित संयोजन रहेको समूहले आउँदो सिजनमा टोलीलाई थप मजबुत बनाउने विश्वास टिम व्यवस्थापकको छ।
पोखराले तेस्रो संस्करणलाई थप सशक्त बनाउने गरीी काम गरिरहेको टिमका मालिक सुबोध त्रिपाठीले बताए। तेस्रो सिजनलाई बलियो र सशक्त बनाउनका लागि अक्सनमा केन्द्रित हुने र अझ बलियो टोली बनाउने गरी काम गरिरहेको उनको भनाइ छ। बलियो आधार तयार गर्दै फ्रेन्चाइजमा उत्कृष्ट प्रदर्शन मार्फत सर्मथकहरुको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए।