नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुँदै गौमाया गुरुङ

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

अभिनेत्री गौमाया गुरुङ नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने भएकी छिन्। अमेरिकाको मेरिल्याण्डमा जुन २५ देखि २८ सम्म आयोजना हुने महोत्सवमा उनी सहभागी हुन लागेकी हुन्। महोत्सवमा उनको मुख्य भूमिका रहेको ‘सेप अफ मोमो’(छोराजस्तै) उद्घाटन चलचित्रका रुपमा प्रदर्शन हुँदै छ।

महोत्सवमा कलाकारको रुपमा सहभागी हुन पाउँदा आफू उत्साहित भएको अभिनेत्री गुरुङले बताइन्। उनले डायस्पोरा दर्शक तथा चलचित्रकर्मीसँग भेटघाट तथा अनुभव आदानप्रदान गर्न आतुर रहेको बताइन्। ‘फिल्मले सुरुदेखि नै पाएको उत्साह र सकारात्मक प्रतिक्रियाप्रति म कृतज्ञ छु। हाम्रो लागि यस महोत्सवमा उद्घाटन चलचित्रको रुपमा ‘सेप अफ मोमो’ छनोट हुनु  विषेश छ। डायस्पोराका दर्शकसँग भेट्न पाउँदा र महोत्सवमा सहभागी हुन पनाउँदा थप उत्साहित भएकी छु’, उनले भनिन्।

महोत्सवले नेपाली डायस्पोराका कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउन तथा विभिन्न संस्कृतिबीच आदानप्रदानको सेतु निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। महोत्सव आयोजक टिमप्रति आभार व्यक्त गर्दै अभिनेत्री गुरुङले यस अवसरले अन्तरसांस्कृतिक कथा–वाचनलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन्। ‘यस्ता महोत्सव नेपाली कला, संस्कृति र कथालाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने महत्वपूर्ण प्लेटफर्म पनि हुन्। डायस्पोराको कथामा अझ धेरै काम होस्। र, हाम्रो क्रियटिभ नेटवर्क अझ बलियो बनोस् भन्ने अपेक्षा गर्छु’, उनले थपिन।

गौमायासँगै पशुपति राई, जानकी कठायतलगायतको अभिनय रहेको यस चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन भइरहेको छ। त्रिवेणी राई निर्देशित ‘सेप अफ मोमो’ले  प्रदर्शनपछि सकारात्मक प्रतिक्रिया पाइरहेको छ। दर्शकले अभिनेत्री गौमायाको अभिनयलाई समेत प्रशंसा गरिरहेका छन्। सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा बनाइएको चलचित्रले एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत, संघर्ष र पहिचानको कथा प्रस्तुत गर्छ।

यस चलचित्रले बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड पाएको थियो। सन् सेबेस्टियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलगायत प्रतिष्ठित महोत्सवहरुमा समेत प्रदर्शन भइसकेको छ।

गौमाया नेपाली चलचित्र क्षेत्रमा स्थापित अभिनेत्रीका रुपमा परिचित छिन्। उनी सन् २०२४ मा विश्व प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलअन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’को एक्टर विधामा छनोट भएकी थिइन्। १३१ देशभरबाट आवेदन दिएका ३८ सय ३२ प्रतिस्पर्धीमध्ये नेपालबाट छनोट हुने उनी एकमात्र कलाकार थिइन्। ‘बर्लिनाले ट्यालेन्ट’मा सहभागितापछि उनले विश्व सिनेमाका चर्चित फिल्ममेकर र कलाकारहरुसँग अभिनयसम्बन्धी प्रशिक्षण लिएकी थिइन्। गौमायाले ‘कबड्डी ४’, ‘फूलबारी’, ‘राजागञ्ज’, ‘महाजात्रा’लगायत चलचित्रमा अभिनय गरिसकेकी छन्।

सुझावित समाचार