एमालेले नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । चुनावी समीक्षा र पुनर्गठनसम्बन्धी कार्यदलद्वारा शनिबार सम्पन्न एमाले बागमती प्रदेश कमिटीको बैठक र भेलाले त्यस्तो माग गरेको हो । शुक्रबार भारतीय सुरक्षाकर्मी नेपाली भूमि प्रवेश गरेपछि सुस्तावासीले प्रतिकार गरी भगाएको श्रव्यदृश्यसहितका समाचार सार्वजनिक भएको थियो ।
‘पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमासुरक्षा बल एसएसबी प्रवेश गरेको घटना सार्वजनिक भएको छ । सरकारको तर्फबाट सत्यतथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकारसमक्ष जोडदार माग गर्दछ,’ भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ ।
त्यस्तै, महँगीका कारण दैनिक उपभोग्य वस्तु, कृषि उत्पादनका सामग्री, इन्धन, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवाहरूको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा आमनागरिकको जीवनयापन कठिन बन्दै गएको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै एमालेले महँगी नियन्त्रण गर्न सरकारसँग जोडदार माग गरेको छ ।
त्यस्तै, १७ जेठमा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति भर्त्सना गर्दै एमालेले देशद्रोही अभिव्यक्ति सच्याउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।
शुक्रबारको बैठकमा बागमती प्रदेशका सबैजसो जिल्ला अध्यक्षहरूले अर्को महाधिवेशनसम्म पार्टीमा केपी ओलीको नेतृत्वको कुनै विकल्प नभएको भन्दै मूल नेतृत्व नफेरी पार्टीलाई पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए ।