ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत देशका विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रका ११ वटा स्वास्थ्य संस्थालाई बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । बैंकले चालू आर्थिक वर्षमा नवजात शिशुको शारीरिक तापक्रम सन्तुलित राख्न तथा हाइपोथर्मिया (अल्पताप)को जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले ११ स्वास्थ्य संस्थालाई जीवनरक्षक उपकरण उपलब्ध गराएको जनाएको छ ।
बैंकका अनुसार आधारभूत स्वास्थ्य सेवा तथा आवश्यक चिकित्सा पूर्वाधारको अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर बेबी वार्मर वितरण गरिएको हो । साथै, सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा समेत विस्तार गर्ने लक्ष्यसहित शाखा कार्यालय नभएका स्थानमा पनि यस्ता अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको बैंकले जनाएको छ ।
चालू आवमा पाँचथरको एकतिन हेल्थपोस्ट, खोटाङको जनसेवा नगर अस्पताल, अछामको भाटाकाटिया हेल्थ पोस्ट, संखुवासभाको नुम प्राथमिक हेल्थ केयर सेन्टर तथा सिसुवाखोला हेल्थपोस्टलाई बेबी वार्मर दिइएको बैंकले जनाएको छ । यसबाहेक बझाङको कालुखेती तथा मस्टा हेल्थपोस्ट, बाजुराको पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र, पाल्पाको ज्यामिरे हेल्थपोस्ट, रोल्पाको लिवाङ हेल्थपोस्ट तथा मकवानपुरको आमभञ्ज्याङ हेल्थपोस्टलाई पनि यस्ता उपकरण उपलब्ध गराइएको बैंकले बताएको छ । साथै, अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिएको छ ।