रास्वपा लुम्बिनी प्रदेशकाे सभापतिमा कसैको पनि बहुमत नआएपछि पुन: निर्वाचन

अब धेरै मत प्राप्त गरेका सालिकराम घिमिरे र गोपाल घिमिरेबिच दोस्रो चरणको प्रतिस्पर्धा हुने

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको सभापतिमा कसैको पनि बहुमत नआएपछि पुनः निर्वाचन हुने भएको छ । सभापति पदका लागि ६ जनाबिच प्रतिस्पर्धा भएको भए पनि कसैले पनि आवश्यक बहुमत नआएपछि पुनः अर्को चरणको निर्वाचन हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार सालिकराम घिमिरे (रुपन्देही) १९९ मत, गोपाल घिमिरे (अर्घाखाँची) ८७ मत, गणेश पौडेल (रुपन्देही) ८४ मत, डा. राजकुमार सुवेदी (बाँके) ८० मत, मञ्जु भुसाल (रुपन्देही) ७१ मत र मधुप्रसाद अर्याल (रुपन्देही) को १९ मत प्राप्त भएको छ ।

अब  धेरै मत प्राप्त गरेका सालिकराम घिमिरे र गोपाल घिमिरेबिच दोस्रो चरणको प्रतिस्पर्धा हुने भएको हो । धेरै मत ल्याउने दुईजनाबिच सहमति भएमा सर्वसम्मत हुने वा सहमति नभएमा पुनः सभापतिका लागि १० बजेपछि मतदान गर्ने प्रक्रिया अघि बढाउने निर्वाचन अधिकृत सापकोटाले बताए ।

दाङको घोराहीमा जारी अधिवेशनअन्तर्गत शनिबार साँझ सम्पन्न मतदानमा कुल ५५२ मत खसेको थियो। अन्य पदहरूमा भने केहीमा सर्वसम्मत र केहीमा निर्वाचन भएको छ ।

सुझावित समाचार