घरबाटो सिफारिस नपाउँदा वृद्धा अप्ठ्यारोमा, जग्गा विवादले परिवारमा हिंसा

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–१ रामपुर निवासी करिब ६५ वर्षीया देवकीदेवी ठाकुरले आफ्नो नाममा रहेको दुई कठ्ठा जग्गाको घरबाटो सिफारिश वडा कार्यालयबाट नपाउँदा आर्थिक र पारिवारिक समस्यामा परेको गुनासो गरेकी छन्।

देवकीदेवीका अनुसार पाँच सन्तानमध्ये कान्छी छोरीको विवाहका लागि छोराहरू र बुहारीसँग पटक–पटक सहयोग माग्दा पनि खर्चको व्यवस्था नभएपछि उनले आफ्नो नामको जग्गा धितो राखेर ऋण लिने प्रयास गरेकी थिइन्। तर वडा कार्यालयले करिब डेढ वर्षदेखि घरबाटो सिफारिश नदिएको उनको आरोप छ। यसका कारण कान्छी छोरीको विवाहमा लागेको करिब पौने १० लाख रुपैयाँ ऋण तिर्न नसकेको उनले बताइन्।

देवकीदेवीका तीन छोराबाट जेठो र कान्छो विदेशमा तथा माहिलो काठमाडौंमा मजदुरी गर्दै आएका छन्। छोरीको विवाहका लागि आवश्यक खर्च जुटाउन परिवारबाट सहयोग नपाएपछि जेठी छोरी र ज्वाइँले ऋण सापटी गरेर रकम जुटाएपछि मात्र विवाह सम्पन्न भएको उनले बताइन्।

उनका अनुसार विवाह खर्चको ऋण तिर्न जग्गा धितो राख्न खोज्दा जेठी बुहारी सेनुदेवीले उक्त जग्गा आफ्नी आमाको नाममा पास गरिदिएपछि मात्र खर्चको हिस्सा तिर्ने सर्त राखेकी थिइन्। देवकीदेवीले त्यस प्रस्ताव अस्वीकार गरेपछि आफूलाई कुटपिट र गालीगलौज गर्ने गरेको आरोप लगाइन्। साथै, घरबाटो सिफारिस रोक्न वडाध्यक्षलाई प्रभावित पारेको समेत उनको दाबी छ।

स्थानीय अगुवा मो. मुजाहिदका अनुसार उक्त जग्गा सम्बन्धी विवाद गाउँस्तरमा पटक–पटक छलफल भए पनि समाधान हुन सकेन। उनले न्यायिक समितिमा परेको उजुरीका आधारमा जग्गा रोक्का गरिएको र पछि गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजकको पहलमा फुकुवा गरिएको बताए।

देवकीदेवीले फुकुवा भएको जग्गा छोरीको विवाहमा लागेको ऋण तिर्न दृष्टिबन्धक राखेको बताइन्। त्यसपछि ‘हाम्रो हिस्साको जग्गा किन दृष्टिबन्धक राखियो’ भन्ने विषयलाई लिएर परिवारमा विवाद झन् बढेको उनको भनाइ छ।

यही विवादका क्रममा २२ जेठ बिहान माहिली बुहारी रुनादेवीमाथि जेठी बुहारी र नातिले कुटपिट गरेको आरोप पनि लगाइएको छ। देवकीदेवीका अनुसार घटनामा रुनादेवीको टाउको र अनुहारमा चोट लागेको थियो र स्थानीय क्लिनिकमा उपचार गराइएको थियो।

उता, परशुराम मण्डलले भने जग्गा सम्बन्धी विषय अंशियारबीचको विवादसँग जोडिएको बताए। उनका अनुसार उक्त जग्गामा तीन छोरा पक्षको पनि दाबी रहने भएकाले न्यायिक समितिमा उजुरी परेपछि अंशियारहरूको मौखिक आग्रहमा घरबाटो सिफारिश रोकिएको हो।

वडाध्यक्ष मण्डलले न्यायिक समितिको पत्रका आधारमा रोक्का रहेको जग्गा पछि फुकुवा भई दृष्टिबन्धक समेत राखिएको जानकारी आफूले पाएको बताउँदै त्यसपछि घरबाटो सिफारिश किन आवश्यक परेको हो भन्ने प्रश्न उठाए।

परिवारभित्रको सम्पत्ति विवाद, घरबाटो सिफारिशको विषय र कुटपिटका आरोपले स्थानीय तहमा थप विवाद सिर्जना गरेको छ भने सम्बन्धित पक्षबीच सहमतिमार्फत समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।

See More On

सुझावित समाचार