बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका - २ स्थित सेल्फीडाँडामा भएको सवारी दुर्घटनामा मृत्यु भएका आठैजनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैजनाको सनाखत गरिएको हो। दुर्घटनामा एकै वडाका ३ सहित रोशी गाउँपालिकाका ६ जनाका साथै नेपाली सेनाका अमलदार र सिन्धुलीको घ्याङलेख गाउँपालिकाका १ जनाले ज्यान गुमाएका छन्।
रोशी गाउँपालिका वडा नं. ६ का अन्दाजी ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय ईन्द्रबहादुर तामाङले सवारी दुर्घटना परी ज्यान गुमाएका छन्। सोही गाउँपालिकाको वडा नं. ७ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, ६० वर्षीया माया लामा र वडा नं. ८ बस्ने ६० वर्षीया प्यारीमाया तामाङले पनि ज्यान गुमाएका छन्।
दैलेख घर भई हाल नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. ४ बस्ने २२ वर्षीया सुमी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकका आफन्तहरूलाई सम्पर्क गरि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
बनेपाबाट रोशी गाउँपालिका वडा नं ६ सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको यात्रुवाहक बस बिपी राजमार्गको सेल्फीडाँडा खण्डबाट करिब ५ सय मिटर तल खस्दा ८ जनाले ज्यान गुमाएका थिए । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।