आकासै छोएजस्ता अग्ला हरिया डाँडाकाँडा । तिनै डाँडामा अडिएजस्तो देखिने बादल । फेदीमा लम्पसार फैलिएका निला रङका ताल । कहीँ चट्टानैचट्टानले भरिएका पहाडमुनि विशाल समथर मैदान । कहीँ तालमा देखिने पहाड र बादलको प्रतिबिम्ब । चराचुरुंगी चिरबिर गरिरहेको मधुर आवाज । शब्दमा व्यक्त गर्न नसकिने यी सुन्दर, रमणीय र मनमोहक दृश्य हुन्, अछामको रामारोशनको । जहाँ पुग्ने जोकोहीलाई प्रकृतिको यो सुन्दरताले मन्त्रमुग्ध बनाउँछ । अछामको रामारोशन गाउँपालिकामा अवस्थित रामारोशन क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटीय गन्तव्यमध्ये एक हो । जहाँको प्राकृतिक सौन्दर्य नियालेर आनन्द लिन बर्सेनि कैयौँ पर्यटक पुग्ने गर्छन् ।
रामारोशन क्षेत्रको प्रवेशद्वार हो रामारोशन–५ स्थित रामे । त्यहाँसम्म साना गाडीमा यात्रा गर्न मिल्छ । रामेबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुगिन्छ बाटुला ताल । हरिया डाँडाको फेदीमा रहेको यो तालसँगै जोडिएको छ, अर्को जिंगले ताल । जुन तालमा डुंगा सयर गरेर आनन्द लिन सकिन्छ । पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले नै जिंगले तालमा चलाउन आधुनिक डुंगाको व्यवस्था गरेको छ । तथ्यांकअनुसार रामारोशन क्षेत्रमा रहेका १२ तालमध्ये सबैभन्दा ठुलो यो ताल करिब दुई हजार सात सय मिटर लामो, तीन–चार सय मिटर चौडा र ४८ मिटरसम्म गहिरो छ ।
जिंगले तालबाट १५–२० मिनेट पैदल दूरीमा छ, रोशन मैदान । करिब ३० हेक्टरमा फैलिएको यो घाँसे मैदानको एकातिर भीमकाय चट्टानसहितका डाँडा छन् । अर्कोतिर हरियाली पर्वत शृंखला । बादलले घेरिएका डाँडाकाँडाको फेदीमा रहेको यो समथर मैदान निकै सुन्दर र मनमोहक देखिन्छ । घाँसे मैदानको केही भागमा दलदले सीमसार छ । रोशन मैदानबाट एक घण्टा पैदल हिँडेपछि किनिमिन्नी मैदान पुगिन्छ । ३४ हेक्टरमा फैलिएको यो १८ मैदानमध्ये सुन्दर र आकर्षक मैदानमा पर्छ । रोशन मैदानअघि ठडिएको चट्टाने पहाडको फेदीतिर गाग्रे ताल छ । रोशन मैदानबाटै माथि हरिया डाँडातिर उक्लिए लामादह र लिस्सेडाली ताल पुगिन्छ । रोशन र किनिमिन्नी मैदान भएर बग्छ कैलाश खोला ।
वरिपरि घेरिएका अग्ला पहाड । फेदीमा घुम्दै जाँदा एकपछि अर्को गरी आउँछन्, मैदान र ताल । कहीँ पहाडको फेदीबाट माथितिर उक्लिँदा भेटिन्छन् तालहरू र मैदानहरू । घुम्दै जाँदा ताल र मैदानहरू आउने क्रम चलिरहन्छ । त्यही कारण रामारोशनलाई १२ बन्ड १८ खण्ड भएको क्षेत्रका रूपमा चिनिन्छ ।
रामारोशन क्षेत्रमा एकै दिन घुमेर नभ्याइने १२ वटा बन्ड अर्थात् ताल र १८ खण्ड अर्थात् मैदान छन् । सुनिबन गेराह, जिंगले, बादुल्ला, लामादह, लिस्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे, रामे, ताउले, डौठे, दल्लेना रामारोशन क्षेत्रमा रहेका १२ बन्ड हुन् । नन्दमाता नदाइ, किनिमिन्नी, रोशन, रामे, चिन्नडी, दँदाडी, बाघफाल, डडिल्ल, बाउलेगडा, बाका चक्रपथ, अगमगड, गतेभिती, गुलिहाल्नोगडा, पासे बाटुल्ला, छिविकटेरी ठाडा, सालिलमकोट, चिरकिट्टे देवी पुन्नु, डुडसु, देउरादेवी, थेप्चे अयरपाटा गरी १८ वटा मैदान छन् । केही ताल वरिपरि पैदल मार्ग र प्रतीक्षालय बनाइएका छन् ।
प्राकृतिक ताल र घाँसे मैदानहरू, घना जंगल, अग्ला पहाड, फेदीमा बग्ने अनेकौँ खोलानाला, स्वच्छ र शान्त वातावरण रामारोशनका आकर्षण हुन् । रामारोशनको प्राकृतिक सौन्दर्य अनुपम रहेको त्यहाँ पुग्नेहरू बताउँछन् । हालै रामारोशन घुमेका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल प्राकृतिक रूपमा अन्यन्त सुन्दर, रमणीय र एकान्त रामारोशन ध्यानका लागि उपयुक्त क्षेत्र भएको बताउँछन् । ‘एकदमै सुन्दर, शान्त र एकान्त छ । कसैको आवाज सुनिन्छ भने त्यो चराचुरुंगीको आवाज मात्र हो,’ हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ अभियान लिएर रामारोशन पुगेका उनी भन्छन्, ‘रामारोशन त १०–१५ दिन बस्ने, हिलिङ र मेडिटेसन गर्ने ठाउँ रहेछ ।’ तालहरू संस्कृति, पर्यावरण र जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण रहेको हमालले बताए ।
प्राकृतिक सुन्दरतासँगै रामारोशनको धार्मिक तथा पौराणिक महत्व पनि रहेको स्थानीय बताउँछन् । रामारोशन क्षेत्र परापूर्वकालमा भगवान् शिव र पार्वतीको वासस्थानको रूपमा रहेको जनविश्वास रहिआएको छ । शिव र पार्वतीले रामारोशन क्षेत्रमा स्थान गरेको, शिवले त्यहाँ राक्षसको अत्याचारबाट मानिसलाई मुक्ति दिलाएकोजस्ता किंवदन्ती प्रचलित छन् । रामारोशन क्षेत्रको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिम सरकारमातहत रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति छ । रामारोशन क्षेत्रमा पैदलमार्ग र यात्रु प्रतीक्षालय निर्माण, तालको संरक्षण, चरिचरन नियन्त्रणलगायत काम समितिले गरिरहेको छ । समितिले प्रकाशित गरेको रामारोशनसम्बन्धी जानकारी पर्चामा समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार ७९२ मिटरको उचाइमा रामारोशन फैलिएको छ । यहाँ नौ प्रकारका लालीगुराँस, लौठसल्लालगायत अनेकौँ जडीबुटी पाइन्छन् । त्यस्तै, डाँफे, मुनाल, कस्तुरीलगायत विभिन्न प्रजातिका चराचुरुंगी तथा वन्यजन्तुको वासस्थानका रूपमा पनि यो रहेको छ ।
पर्यटक आवागमन बढ्दै
रामारोशन घुम्ने पर्यटकलाई लक्षित गरेर रामेमा आधा दर्जन होटेल खुलेका छन् । होटेलमा स्थानीय र रैथाने खानाको स्वाद लिन सकिन्छ । स्थानीय भास्कर चामलको भात, कोदोको रोटी, लोकल कुखुराको मासु, उच्च पहाडी र हिमाली क्षेत्रमा पाइने जडीबुटी पदमचाल्नोको अचार, लोकल आलुको तरकारीलगायत खाना पाइन्छ । रामारोशन गाउँपालिकाका पूर्वअध्यक्ष झंकरबहादुर साउद ‘भास्कर’ले बिउ भित्र्याएकाले धानको नाम नै भास्कर धान राखिएको रहेछ ।
दुई–तीन महिनायता रामारोशन आउने पर्यटकको संख्या ह्वात्तै बढेको त्यहाँका होटेल व्यवसायी बताउँछन् । पहिले हप्तामा मुस्किलले ४०–५० जना पर्यटक आउने गरेकोमा हिजोआज एकै दिन २५–३० सय जनाभन्दा बढी पुग्ने गरेको रामेमा रामारोशन एडभेन्चर एन्ड क्याम्पिङ रिसोर्ट चलाइरहेका शमशेर बोहराले जानकारी दिए । अछाम, सुदूरपश्चिमका अन्य नौ जिल्ला तथा कर्णाली प्रदेशका छिमेकी जिल्लाका मानिस बढी आउने गरेको उनी बताउँछन् ।
गत २१ फागुनमा भएको चुनावअघि धनगढीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिममा सुन्दर पर्यटकीय क्षेत्र रहेको र यहाँ पर्यटन विकासको प्रचुर सम्भावना रहेको भन्ने सन्दर्भमा स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन र बडीमालिका यहीँ छ भनेका थिए । त्यही कारण पनि रामारोशनमा पर्यटक एकाएक बढेका बोहराले बताए । रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष गोपी खनाल पनि बालेनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा रामारोशनको चर्चा चुलिएको र यहाँ आउने पर्यटक बढेको बताउँछन् ।
उनका अनुसार रामारोशन घुम्न जुनसुकै सिजन पनि उपयुक्त हुन्छ । हिउँदमा डाँडाहरू हिउँले ढाकिएर सेताम्य भएका दृश्य देखिन्छन् । वसन्त ऋतुमा लालीगुराँस ढकमक्क फुलेका हुन्छन् । बर्खामा हरियाली र फुलहरू ढकमक्क फुलेको मनोरम वातावरण भए पनि तुवालो पनि लाग्ने गरेको छ ।
कसरी पुग्ने रामारोशन ?
रामारोशन जाने दुइटा कच्ची सडक छन् । साँफेबगर–बयलपाटा–जयगड–दर्ना–गजडबजार–माझाठाना–मुजाबगर–खालबजार–सैनीबजार–नेताकोट–पातलगाउँ हुँदै रामेसम्म पुग्न सकिन्छ । यो ग्रामीण सडक करिब ५७ किलोमिटर छ । जयगडसम्म १६ किलोमिटर कालोपत्रे छ भने बाँकी कच्ची सडकमा यात्रा गर्नुपर्छ । साँफेबगरदेखि सैनीबजारसम्म सार्वजनिक सवारी साधन चल्छन् । सैनीबजारबाट ग्रामीण क्षेत्रमा चल्ने बोलेरो जिप रिजर्भ गर्नुपर्छ । सैनीबजारसम्म धनगढीबाटै नियमित बस चल्छन् । सैनीबजारबाट तल्लो पातल, चौर, दल्लेना हुँदै ट्रेकिङ गरेर पनि रामारोशन पुग्न सकिन्छ । गाउँहरू हेर्दै ट्रेकिङ गरेर यो बाटोबाट चार–पाँच घण्टामा रामारोशन पुग्न सकिन्छ ।
अछामको विनायकबाट पनि रामारोशन जाने सडक छ । कर्णाली प्रदेशबाट जाँदा यो छोटो बाटो पर्छ । मध्यपहाडी राजमार्गको बेलखेत–विनायक–मंगलसेन खण्डअन्तर्गत विनायकको ठाटीखाँदबाट कालागाउँ हुँदै गजड बजार पुगिन्छ । यो करिब ७० किलोमिटर लामो कच्ची सडक छ । यी दुवै सडकको अवस्था भने राम्रो छैन । स्तरीय नभएकाले यी ग्रामीण सडकको यात्रा कतिपय ठाउँमा जोखिमपूर्ण र कठिन छ । जयगढ हुँदै रामारोशन जाने सडक कालोपत्रेका लागि सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत २०७७ मै ठेक्का भए पनि अझै काम पूरा भएको छैन ।