बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका– २, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनापछि बसले च्यापिएको अवस्थामा थप एकजनाको शव फेला परेको हो । यससँगै मृतक संख्या आठ पुगेको प्रहरीले जनाएको छ । मृतकमध्ये चार पुरुष र चार महिला रहेका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ ।
बा.३ख ८३९८ नम्बरको बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै रोशी–६, सुँगुरेतर्फ जाँदै थियो । सोही क्रममा बस बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १६ जनाको उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा रोशी, तेमाल, बनेपा तथा बर्दियाका यात्रु रहेका छन् । चालक घोयासिंह तामाङको दाहिने खुट्टा भाँचिएको छ भने अन्य यात्रुहरूको टाउको, हातखुट्टा, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । केही घाइतेको पहिचान अझै खुलेको छैन ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।