राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन शनिबारबाट दाङमा सुरु हुने भएको छ । नयाँ नेतृत्व चयन गर्ने यस प्रथम अधिवेशनलाई विशेष महत्त्व दिएर रास्वपाका नेता–कार्यकर्ता अधिवेशनको तयारीमा जुटेका छन् । रास्वपाको विधानअनुसार लुम्बिनी प्रदेशमा ५७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिनेछ।
समितिमा एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता तथा सदस्यहरू रहने व्यवस्था छ। सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान छ। रास्वपाले केही दिनअघि मात्रै प्रदेशका १२ मध्ये ११ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ ।
सबै जिल्लाका प्रतिनिधि तथा केन्द्रीय प्रतिनिधिसहितको टोलि शुक्रबारदेखि दाङमा जुट्ने गरी तयारी भइरहेको रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य गोपाल घिमिरेले बताए । लुम्बिनी प्रदेशमा राम्रो संगठन विस्तार भएको र पार्टीभित्र मात्रै नभई अन्य दलहरू तथा आम जनताले पनि विशेष चासो राखेकाले प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने गरी तयारीका कामहरू भइरहेको घिमिरेको भनाइ छ ।
अधिवेशन सम्पन गर्न पाँच सदस्यीय निर्वाचन समिति सक्रिय रहेको छ । निर्वाचन समितिका संयोजक गोकुल सापकोटाले आवश्यक तयारीका कामहरू अगाडि बढाइएको बताए । निर्वाचन सम्पन्न गर्न सापकोटाको संयोजकत्वमा राहुल केसी, पवनराज देवकोटा, सुदन ज्ञवाली, सुमन धरेललगायतको निर्वाचन समिति रहेको छ ।
नयाँ नेतृत्वकाे दौड
रास्वपा लुम्बिनी प्रदेशको नयाँ नेतृत्व हात पार्न यहा आकांक्षीहरूको दौडधुप चलेको छ । यहा संगठन निर्माणमा पार्टी स्थापनादेखि सशक्त भूमिका खेल्दै आएको भन्दै संगठन विभाग सदस्य घिमिरेले प्रदेश सभापति पदका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् । त्यस्तै, यहाँ अहिलेका सभापति तथा दाङ १ बाट प्रतिनिधिसभा सदस्य रहेका देवराज पाठक, सांसद मञ्जु भुसाल, शालिकराम घिमिरे, मधु अर्याल, गणेश पौडेललगायत पनि सभापति पदको उम्मेदवारको चर्चामा रहेका छन् ।