- ट्याटु एक प्रकारको ‘अमौखिक सञ्चार’ हो, जसले खेलाडीलाई उनीहरूको व्यक्तिगत भावना, विचार र रुचि प्रकट गर्न सघाउँछ
जुन ११, २०२६ मा फिफा विश्वकप सुरु हुँदै गर्दा परम्परागत समाचार र सामाजिक सञ्जाल खेलाडीका तस्बिरले भरिएका हुनेछन् । तीमध्ये धेरैले खेलाडीको ट्याटु देखाउनेछन् । कलात्मक रूपमा शरीरमा ट्याटु खोप्नु अन्तर्राष्ट्रिय फुटबलको हिस्सा बन्दै गएको छ, यद्यपि यसको व्यापकता भौगोलिक क्षेत्रमा फरक हुन सक्छ । २०१८ को विश्वकपमा भाग लिने खेलाडीमाझ गरिएको अध्ययनले ल्याटिन अमेरिकी खेलाडीले सबैभन्दा धेरै ट्याटु खोपेको देखाएको थियो । त्यसपछि सामुद्रिक देश र युरोपेली खेलाडी थिए । अफ्रिकी र एसियाली खेलाडीले कम ट्याटु खोपेका छन् । मैले २०१८ देखि ट्याटु र तिनको आध्यात्मिक तथा धार्मिक भूमिकाबारे अध्ययन गर्दै आएको छु । ट्याटुहरू समय र पैसाका लगानी तथा व्यक्तिको जीवनका महत्वपूर्ण प्रतीक हुन् । यद्यपि, पेसेवर खेलाडीका लागि तिनले अर्कै अर्थ दिन्छन् ।
खेलाडीले कम्पनी र अन्य लगानीकर्तासँगको सम्झौता दायित्वलाई विचार नगरी स्वतन्त्र रूपमा स्की गर्न, कसरत गर्न वा बिदा लिन सक्दैनन् । विश्वकपमा खेल्ने धेरैजसो खेलाडीले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन्छन् । यसले खेलाडीले आफ्नो सामाजिक सञ्जालमा के प्रेषित गर्ने या नगर्ने भन्ने विषयमा नियमन गर्छ । यस पृष्ठभूमिमा ट्याटु व्यक्तिगत स्वतन्त्रताको केही स्थानमध्ये एक हो ।
समाजशास्त्री साम बेल्किन र डेल सेप्टक तर्क गर्छन्– ट्याटु प्रायः खेलाडीले आफ्नो अपेक्षा व्यक्त गर्ने तरिका हो । बेल्किन र सेप्टकका अनुसार दृश्यात्मक ट्याटु एक प्रकारको ‘अमौखिक सञ्चार’ हो, जसले खेलाडीलाई उनीहरूको व्यक्तिगत भावना र उनीहरूलाई के महत्वपूर्ण छ भन्नेबारे इमानदार हुन सक्षम बनाउँछ । मेरा सहकर्मी र मैले २०२२ मा कतारमा भएको अन्तिम विश्वकप जित्ने अर्जेन्टिनाको पुरुष राष्ट्रिय टोलीका सदस्यको ट्याटुको विश्लेषण गर्यौँ । हामीले लगभग २०० तस्बिर हर्ेयौँ र पत्ता लगायौँ कि रोस्टरमा रहेका २६ खेलाडीमध्ये २० जनामा कुल २२६ ट्याटु थिए ।
हामीले टोलीको जनसांख्यिकी र खेलाडीको शरीरमा ट्याटु डिजाइन र स्थानको विश्लेषण गर्यौँ । अन्तर्वार्ताको पनि विश्लेषण गर्यौँ, जहाँ तीमध्ये केहीले ट्याटुलाई जीवनसँग जोडेका थिए । केही अवस्थामा तिनको ट्याटुपछाडिका कथा पनि थिए । हामीले यी ट्याटुलाई तिनको व्यावसायिक मार्ग, धार्मिक र लोकप्रिय संस्कृतिको फराकिलो सन्दर्भमा राखेर हेर्यौँ । धेरैजसो खेलाडीले ट्याटुमार्फत आफ्नो धार्मिक विश्वास व्यक्त गरेको पाइयो । ७५ प्रतिशत ट्याटुले धार्मिक विश्वास व्यक्त गरे, अर्थात् २० मध्ये १५ खेलाडीले क्याथोलिक धर्मसँग सम्बन्धित धार्मिक व्यक्तित्वको शरीर कला, जस्तै भर्जिन मेरी, यशु र सन्तहरूको शरीर कला प्रस्तुत गरे । केहीले पवित्र आत्मा र चर्चहरूसँग सम्बन्धित ढुकुरको ट्याटु पनि बनाएका थिए ।
हामीले धार्मिक विविधता पनि देख्यौँ । त्यहाँ बुद्ध, सन्त र आध्यात्मिक वस्तुका ट्याटु थिए । एक खेलाडीले ‘ड्रिम कैचर’को ट्याटु बनाएका थिए । अर्का खेलाडीले आफ्नो शरीरमा ‘एनर्जी’ अर्थात् शब्द कोरेका थिए । पचहत्तर प्रतिशत खेलाडीले आफ्नो करिअरमा के हासिल गरेका छन् भनेर चित्रण गर्ने ट्याटु बनाएका थिए । उनीहरूले प्रयोग गर्ने केही प्रतीक ट्रफी, जर्सी र संख्या थिए । सामान्यतया उनीहरूले पाउने संख्या उनीहरूले लगाउने जर्सी नम्बरसँग मेल खान्छ ।
असी प्रतिशत (१६ खेलाडी) ले आफूले मन पराएको कुरा चित्रण गर्ने ट्याटु खोपेका थिए । यी ट्याटुमा संख्याको डिजाइन समावेश छन्– सामान्यतया खेलाडीका बच्चाको जन्ममिति । त्यस्तै आफ्ना प्रियजनको नाम वा उनीहरूका पार्टनरका आँखा वा ओठ पनि ट्याटुमा कोरेका थिए । केही ट्याटुले आमाबाबु, हजुरबा, हजुरआमा, उनीहरूलाई हुर्काउन मद्दत गर्ने व्यक्ति र घरपालुवा जनावरसहित उनीहरूको विस्तारित परिवारलाई व्यक्त गरे । ‘प्लेसमेन्ट’ पनि महत्वपूर्ण थियो । लगभग ६० प्रतिशत ट्याटु हात र टाउकामा थिए, जुन स्थान उनीहरूले मैदानमा प्रदर्शन गर्दा सजिलै देखिन्थे । तर, ट्याटुको डिजाइनले यसको स्थान पनि निर्धारण गर्यो, धार्मिक प्रतीकहरू सामान्यतया सम्पूर्ण काँध वा माथिल्लो वा तल्लो खुट्टामा राखिन्थ्यो । व्यावसायिक करिअरसँग सम्बन्धित ट्याटु सामान्यतया खेलाडीको प्रमुख खुट्टामा राखिन्थ्यो । जनावरका ट्याटु सामान्यतया पछाडि राखिन्थ्यो र खेलको समयमा देखिँदैनथ्यो ।
फुटबलको अध्ययन गर्ने धेरै विद्वान्ले राजनीतिसँग यसको सम्बन्धको जाँच गरेका छन् र यो खेल कसरी राजनीतिका लागि एक स्थान भएको छ भनेर अध्ययन गरेका छन् । उदाहरणका लागि डिएगो म्याराडोनाले आफ्नो दाहिने हातमा चे ग्वेभाराको ट्याटु र आफ्नो तल्लो खुट्टाको पछाडिपट्टि क्युबाली क्रान्तिकारी फिडेल क्यास्ट्रोको ट्याटु खोपे, जसले उनको क्रान्तिकारी राजनीतिक विचार व्यक्त भयो ।
ट्याटु हेर्दा लिंग पनि महत्वपूर्ण हुन्छ । महिला खेलाडीलाई प्रायः पुरुष समकक्षीभन्दा बढी जाँच गरिन्छ । अर्जेन्टिनाको राष्ट्रिय महिला टोलीकी कप्तान यामिला रोड्रिगेजले क्रिस्टियानो रोनाल्डोको ट्याटु खुलासा गर्दा प्रशंसक र मिडियाबाट तीव्र आलोचनाको सामना गर्नुपर्यो । उनले ट्याटुमा अर्जेन्टिनाका लियोनल मेस्सीको नभई पोर्चुगिज सुपरस्टारको चित्रण गरेकी थिइन् । रोड्रिगेजको अनुभवले महिलाको शरीरलाई पुरुषको जस्तो व्यक्तिगत निर्णयको अधीनमा राखिएको कुरा प्रकाश पार्छ । यो विश्वकप, यसको अभूतपूर्व विश्वव्यापी पहुँचका साथ, खेलाडीले आफ्नो शरीरमा प्रदर्शन गर्न छनोट गर्ने मूल्य–मान्यता, विश्वास र सम्बन्ध अवलोकन गर्ने एक अद्वितीय अवसर प्रदान गर्छ । केही तरिकामा ट्याटुलाई खेलाडीको आत्मामा सानो झ्यालको रूपमा हेर्न सकिन्छ ।
द कन्भर्सेसनबाट
(मोरेलो बोस्टन कलेजका सोसोलोजीका प्राध्यापक हुन्)