आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि बिहीबारको संसद् बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रक्षात्मक देखिएका छन् । आफूमाथि आर्थिक विधेयक संशोधन र सूचना चुहाएर व्यवसायीलाई लाभ दिएको भन्दै सांसदहरूले गरेका प्रश्नको उनले आत्मविश्वासका साथ खण्डन गरेका छन् ।
बजेटमार्फत व्यापारीलाई फाइदा पुर्याइएको भन्ने आरोपको प्रतिवाद गर्दै उनले भने, ‘स्वर्णिम वाग्लेले करको दर चलाएर व्यापारी पोस्यो भन्नेजस्ता आरोप सुनिए । सुशासनलाई मूल एजेन्डा बनाएर अगाडि बढेको सरकारले दुई महिनामै जनताको विश्वासमाथि धोका दिन सक्दैन ।’
विपक्षीले लगाएको आर्थिक विधेयक संशोधन आरोपको प्रतिवाद गर्दै अर्थमन्त्रीले भने– स्वर्णिम वाग्लेले करको दर चलाएर व्यापारी पोस्यो भन्नेजस्ता आरोप सुनिए । सुशासनलाई मूल एजेन्डा बनाएर अगाडि बढेको सरकारले दुई महिनामै जनताको विश्वासमाथि धोका दिन सक्दैन ।
बिहीबार बिहान बसेको सार्वजनिक लेखा समितिमा पनि सोही कुरा राखेको जानकारी गराउँदै उनले भ्रष्टाचारको कुनै प्रमाण भेटिए राजनीतिक र सार्वजनिक जीवन नै त्याग्न तयार रहेको चुनौती दिए । ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्र पनि बदमासी वा बेइमानी मबाट भएको प्रमाणित हुन्छ भने म मन्त्री पद त्यागिदिन्छु, सार्वजनिक जीवन नै त्याग्न पनि तयार छु,’ उनले भने ।
आफूमाथि उठाइएका आरोपहरूको यथार्थ संसद् र जनतासामु राख्न चाहेको बताउँदै अर्थमन्त्री वाग्लेले केही समयअघि नै यस विषयमा संसदमा बोल्न चाहेको भए पनि अवसर नपाएको बताए । शिक्षा क्षेत्रमा यस वर्षको सबैभन्दा महत्त्वपूर्ण र दीर्घकालीन सुधारको आधार तयार गर्न विद्यालय पूर्वाधारको राष्ट्रिय अडिट हुने कार्यक्रम ल्याएको उनको दाबी छ । सो कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यस वर्ष नयाँ संरचना निर्माणमा जोड नदिई हालसम्म बनेका विद्यालय भवन र पूर्वाधारको वास्तविक अवस्था मूल्यांकन गरिने उनको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले सातै प्रदेशमा रहेका दुई हजारदेखि चार हजारसम्म विद्यार्थी पढाउने उत्कृष्ट सामुदायिक विद्यालयहरूलाई क्रमशः बुढानीलकण्ठ विद्यालयको स्तरमा विकास गर्न सकिने धारणा व्यक्त गरे । उनले सबै सामुदायिक विद्यालयको सम्पूर्ण प्रणालीको अडिट गरेर तथ्यमा आधारित सुधार कार्यक्रम ल्याउन चाहेको बताए ।
बजेट वक्तव्यमा सबै क्षेत्र, जिल्ला र समुदायका कार्यक्रम समेट्न नसकिने स्पष्ट पार्दै उनले विस्तृत कार्यक्रम र आयोजना सम्बन्धित मन्त्रालयहरूले प्रकाशित गर्ने बजेट पुस्तिकामा समावेश भएको जानकारी दिए । ‘रामेछापले के पायो, दोलखाले के पायो, दलित समुदायले के पायो भनेर सबै कुरा बजेट भाषणमै समेट्न खोज्ने हो भने वक्तव्य असाध्यै लामो हुन्छ,’ उनले भने ।
भौतिक पूर्वाधार मन्त्रालयले तीनवर्षे कार्यक्षेत्र र मध्यमकालीन खर्च संरचनाका आधारमा काम अघि बढाएको उल्लेख गर्दै यसलाई बजेट कार्यान्वयनको नयाँ प्रस्थानका रूपमा व्याख्या गरे । अर्थमन्त्री वाग्लेले प्रस्तुत बजेटलाई बजारको सुस्तता अन्त्य गरी आर्थिक गतिविधि विस्तार गर्ने ‘केन्सियन स्टिमुलस’का रूपमा चित्रण गरे । लोककल्याणकारी राज्यका दायित्वहरू तथा विगतका प्रतिबद्धतामध्ये कुनै पनि कार्यक्रम कटौती नगरिएको, बरु थप सुदृढ बनाइएको उनको दाबी थियो ।
‘बजेट नै सर्वस्व होइन,’ अर्थमन्त्री वाग्लेले भने, ‘२१ खर्ब रुपैयाँको बजेटले मात्र देशको कायापलट हुँदैन । यसले त बिउ रोप्ने काम गर्छ । हाम्रो अर्थतन्त्र करिब ७० खर्ब रुपैयाँको छ र त्यसलाई आगामी वर्ष ७४ खर्बभन्दा माथि पुर्याउँदै ६ प्रतिशत वास्तविक आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य छ ।’ सार्वजनिक खर्चले निजी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिँदै उनले सरकारले खर्च गरेको प्रत्येक एक रुपैयाँले निजी क्षेत्रबाट कम्तीमा पाँच रुपैयाँ लगानी तान्न सके मात्र आर्थिक नीतिको उद्देश्य पूरा हुने धारणा राखे ।
मध्यरातमा कर हेरफेर नभई प्राविधिक त्रुटि सच्याइएको हो : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. वाग्लेले बजेटपछि आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेका विवादहरूको जवाफ दिँदै मध्यरातमा करका दर परिवर्तन गरेर कुनै व्यापारीलाई फाइदा पुर्याइएको भन्ने आरोप पूर्णतः गलत रहेको बताएका छन् । उनले आर्थिक विधेयकमा भएका परिवर्तनहरू सामान्य प्राविधिक तथा सम्पादकीय त्रुटि सच्याउने उद्देश्यले गरिएको स्पष्ट पारे ।
अर्थमन्त्री वाग्लेले जेठ १५ गते दिउँसो ४ बजे बजेट प्रस्तुत गर्नुपर्ने भए पनि सोही दिन बिहानसम्म आर्थिक विधेयकको मस्यौदा तयार पार्ने काम जारी रहेको बताए । उनका अनुसार यस वर्ष व्यापक परामर्श, कर सुधार र प्रभाव विश्लेषणका कारण बजेट तयारी प्रक्रिया अत्यन्तै जटिल र समयसापेक्ष बनेको थियो ।
उनले जेठ १७ गते संसद्का महासचिवलाई पत्र लेखेर संशोधन गरिएको जानकारी गराइएको तथा सांसदहरूलाई आर्थिक विधेयकसँगै त्रुटि सच्याइएको पाना वितरण गरिएको बताए । ‘पोहोर पनि ७३ वटा शीर्षकमा संशोधन गरिएको थियो । यसपालि भने दर, शुल्क र केही स्पष्टीकरणसम्बन्धी सीमित संशोधन मात्र भएका हुन्,’ उनले भने ।
विद्युतीय सवारीसाधन (इभी)सम्बन्धी संशोधनबारे बोल्दै अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका इभीमा कर नबढाउने सरकारको स्पष्ट नीति रहेको बताए । उनका अनुसार ५० लाखभन्दा कम मूल्यका इभी मध्यम वर्ग र युवाहरूको आकांक्षासँग जोडिएका छन् । त्यस्ता सवारीमा भन्सार महसुल २० प्रतिशत कायम राखिएको छ भने सडक मर्मत सुधार दस्तुर ५ प्रतिशतबाट घटाएर २.५ प्रतिशत बनाउने निर्णय गरिएको थियो । तर, कानुनी मस्यौदा तयार गर्ने क्रममा उक्त २.५ प्रतिशतसम्बन्धी फुटनोट छुटेकाले पछि थपेर सच्याइएको उनले बताए । ‘यो मैले टाइप गरेको होइन, कर्मचारी साथीहरूले तयार गर्नुभएको थियो । मन्त्रालयको अभिभावकका रूपमा म त्यसको जिम्मेवारी लिन्छु,’ उनले भने । यस्तै, अन्तःशुल्क तिरिसकेर भन्सार प्रक्रियामा रहेका इभीले दोहोरो कर तिर्नुपर्ने अन्योल हटाउन स्पष्टीकरणसमेत थपिएको उनले जानकारी दिए ।
अर्थमन्त्री वाग्लेले संसद्प्रति सम्मानका कारण त्रुटि सच्याइएको जानकारी तत्काल सांसदहरूलाई उपलब्ध गराइएको बताए । ‘सांसदहरूलाई गुमराहमा राख्नुहुँदैन भन्ने हाम्रो मान्यता हो । त्यसैले बहस सुरु हुनुअघि नै सच्याइएको पाना वितरण गरिएको थियो,’ उनले भने । रसुवा र मुस्ताङ नाकामा सामान आयातको विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कसैले गोप्य सूचना नचुहाएको बताए ।
विपक्षी दलका सांसदको टिप्प्णी
बजेट किसान र गरिबमुखी भएन : सांसद ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्रबहादुर शाहीले आगामी बजेट वास्तविक किसान र गरिब नागरिकको हितमा नआएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद शाहीले बजेटमा न्यूनतम दुई करोड रुपैयाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपक्षी उद्यमलाई ४० प्रतिशत प्रोत्साहन अनुदान दिने व्यवस्थाप्रति गम्भीर असहमति प्रकट गरे ।
‘नेपालका गाउँघरमा दुई करोड रुपैयाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन् ? देशका ९७ प्रतिशतभन्दा बढी किसानको पुँजी दुई करोडभन्दा कम छ,’ उनले प्रश्न गरे, ‘दुई अर्ब १९ करोड रुपैयाँ वास्तविक किसानलाई होइन, सुकिला–मुकिला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ ।’
बजेटले नेपालमै उत्पादन हुने औषधिलाई प्रोत्साहन दिनुको सट्टा आयातित औषधिलाई सहज बनाएको भन्दै उनले यसबाट २० देखि २५ हजार युवाले रोजगारी पाएका स्वदेशी औषधि उद्योगहरू संकटमा पर्ने र झन्डै ५० भन्दा बढी ठुला उद्योगहरू बन्द हुने जोखिम बढेको औँल्याए । नीति–निर्माण गर्नेहरूले किताब र विश्वविद्यालय पढे पनि समाज र जनता नपढेको उनको टिप्पणी थियो ।
मूल्यवृद्धि नियन्त्रण गर्ने गरी बजेट आएको छैन : हर्कराज राई, अध्यक्ष, श्रम संस्कृति पार्टी
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मूल्यवृद्धि नियन्त्रण गर्ने गरी बजेट नआएको बताएका छन् । ‘आज पेट्रोलियम पदार्थको मूल्य विश्वकै सबैभन्दा महँगोमध्ये नेपालमा छ । यसरी दैनिक उपभोग्य वस्तु र सेवा–सुविधाको मूल्य अचाक्ली बढाएर हामीले राम्रो बजेट बनाइरहेका छैनौँ । सरकारले त्यतातिर ध्यान दिनुपर्छ,’ उनले भने ।
आफूहरूले दिएको सुझावसमेत बजेटमा नराखिएको उनले बताए । बजेटमा व्यावहारिक योजनासमेत नभएको उनको आरोप छ । ‘बजेट भनेको ‘यति पैसा उठाउँछु र यो काम गर्छु’ भन्ने हाम्रो आर्थिक योजना हो । तर, कति पैसा उठाउने र कसरी उठाउने भन्ने ढंग पनि हुनुपर्छ,’ उनले भने ।
आर्थिक विधेयकमा मनलाग्दी हेरफेर भयो : निस्कल राई, सांसद, नेपाली कांग्रेस
कांग्रेस सचेतक निस्कल राईले विज्ञ अर्थमन्त्री भए पनि करका दरहरूमा मनलाग्दी हेरफेर गरेर संसद्को अवमूल्यन गरेको बताए । उनले संसद्को अधिकारमाथि नै कैँची चलाउने प्रयत्न भएको आरोप लगाए ।
‘हामीसँग यति विज्ञ र प्रजातान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्ने अर्थमन्त्री हुनुहुन्छ, तर उहाँले करका दरहरूमा बारम्बार हेरफेर गर्नुभयो । के उहाँले संसद्को अधिकारमा कैँची चलाउनुभएको हो ? आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो ?’ उनले प्रश्न गर्दै भने ।
सदनमा पेस भइसकेको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट परिवर्तन गर्न नहुने उनको भनाइ थियो । ‘यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भयो ? मेरो प्रश्न छ । सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र ?’ भन्दै उनले अर्थमन्त्री वाग्लेलाई थप प्रश्न गर्दै भने, ‘कसको इसारा वा कुन स्वार्थमा करका दरहरू आफूखुसी परिवर्तन गरिए ?