असार पहिलो साता ‘बोधी संवाद’मा विज्ञहरू भेला हुँदै, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धबारे मन्थन

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

नेपालसहित दक्षिण एशिया तथा विश्वव्यापी रूपमा विकसित आर्थिक, राजनीतिक र भू–राजनीतिक परिवर्तनहरूबारे छलफल गर्न अर्थशास्त्री एवं अन्तराष्ट्रिय सम्बन्धका विज्ञहरु काठमाडौंमा भेला हुने भएका छन् ।

नेपालको चिन्तन संस्था सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) द्वारा बोधी सम्वाद नाम दिइएको अन्तराष्ट्रिय सम्मेलनमा भारत, अमेरिका, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अस्ट्रेलियालगायत १६ मुलुकबाट तथा नेपालबाट ४० भन्दा बढी विज्ञहरुले परिवर्तित भूआर्थिक तथा भूराजनीतिक परिवेशबारे मन्थन गर्न लागेका छन् । 

‘यो अन्तर्राष्ट्रिय सम्मेलन गम्भीर, सार्थक र दूरदर्शी संवादको एक महत्वपूर्ण मञ्च बन्ने हाम्रो विश्वास छ’ सेसिफका कार्यकारी अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णले भने, ‘तीव्र परिवर्तनको चरणमा रहेको विश्वमा भएका आर्थिक शक्ति सन्तुलन परिवर्तन , प्रविधिले समाज र शासन प्रणालीलाई पुर्नभाषित गरिरहेको र अन्तर्राष्ट्रिय सम्बन्धहरू नयाँ स्वरूप ग्रहण गरिरहेका बेला अहिले अबलोकन गर्ने मात्र होइन, तिनको अर्थ, प्रभाव र सम्भावित दिशाबारे गम्भीर विमर्शका लागि बोधी संवाद आयोजना गरेका हौँ ।’ यस्तो बिमर्श नेपालको परिवर्तित परिवेशमा झनै आवश्यक परेको उनले बताए । 

वरिष्ठ कूटनीतिज्ञहरू, अर्थशास्त्रीहरू, सुरक्षा विज्ञहरू, शिक्षाविद्हरू, प्रविधि विशेषज्ञहरू तथा निजी क्षेत्रका नेतृत्वकर्ताहरूले आफ्ना अनुभव र विचार साझा गर्ने कार्यक्रम रहेको कर्णले बताए । ‘नेपाललाई आज यस्ता मञ्चहरूको आवश्यकता छ जसले नीति निर्माण, शैक्षिक अनुसन्धान, निजी क्षेत्रको अनुभव र अन्तर्राष्ट्रिय दृष्टिकोणलाई एउटै स्थानमा जोड्न सक्नेछ’ कर्णले भने, ‘धेरैजसो अवस्थामा नीति निर्माता, अनुसन्धानकर्ता, व्यवसायी, कूटनीतिज्ञ र युवाहरूका छलफलहरू छुट्टाछुट्टै घेराभित्र सीमित हुने गर्छन् । तर आज हामीले सामना गरिरहेका चुनौतीहरूको समाधानका लागि  साझा सोच, सहकार्य र बहुआयामिक संवाद आवश्यक छ। हामीले बोधि संवादका नाममा साझा मञ्च तयार गरेका हौँ ।’

उनका अनुसार २ र ३ असारमा ‘नेपालको आर्थिक विकासको सम्भावना’ बारे छलफल हुनेछ । यसैगरी ४ र ५ असारमा ‘दक्षिण एशियामा भू–राजनीतिक परिवर्तन र चीनको भूमिका ’ विषयमा छलफल केन्द्रीत हुनेछ । 

सम्मेलनमा राजनीतिक नेतृत्व, नीति निर्माता, अर्थशास्त्री, निजी क्षेत्रका प्रतिनिधि, विकास साझेदार, अनुसन्धानकर्ता तथा युवा नेतृत्व सहभागी हुनेछन् । ‘क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित कूटनीतिज्ञ, रणनीतिक विश्लेषक, विद्वान् तथा नीति विशेषज्ञहरूले सहभागिता जनाउँदै विभिन्न दृष्टिकोणबाट यी विषयहरूको विश्लेषण गर्नेछन्’ पूर्वराजदूत कर्णले भने । 

पहिलो दुई दिन (२ र ३ असार)मा नेपालको मुख्य आर्थिक चुनौती—दशकौंदेखिको न्यून आर्थिक वृद्धि, विप्रेषण (रेमिट्यान्स) माथिको निर्भरता र चरम युवा पलायनको दुश्चक्रलाई तोड्ने विषयमा केन्द्रीत छलफल हुनेछ । यसको प्रमुख बक्ता अर्थमन्त्री डा स्वर्णिम वाग्ले हुनेछन् । 

दोश्रो कार्यक्रम अर्थात् ४ र ५ असारमा आयोजित भू–राजनीतिको विश्लेषणः दक्षिण एसियामा चीन शत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपाली पूर्व स्थायी प्रतिनिधि तथा पूर्व परराष्ट्रसचिब ज्ञानचन्द्र आचार्य, भारतका पूर्व विदेश सचिब विजय केशब गोखले, लोकतन्त्र, मानवअधिकार र श्रम मामिलाका लागि पूर्व अमेरिकी सहायक विदेशमन्त्री टम मालिनोव्स्कीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सुझावित समाचार