बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका– ३, बगनाहा बजारमा घर भाडामा लिएर प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग नामक नक्कली कार्यालय सञ्चालन गरी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका– ३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी २३ वर्षीया श्रीमती कृपा चौधरी रहेका छन्। दम्पतीले उक्त नक्कली कार्यालयमार्फत कर्मचारी नियुक्ति गरिदिने तथा मजदुरी काममा लगाइदिने प्रलोभन देखाई कामदारहरूसँग ठगी गरेको पाइएको छ।
अनुसन्धानका क्रममा उनीहरूले कामदारलाई ज्याला नदिएको, घरधनीलाई घरभाडा नतिरेको तथा सरकारी कागजात र छाप नक्कली रूपमा प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुर तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।