टाइगर ट्र्याक इको लजलाई चर्चित आर्किटाइजर ए प्लस अवार्डको आतिथ्यता विधाको उपाधि

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

बर्दियाको ठाकुरद्वारामा रहेको टाइगर ट्र्याक इको लजले विश्वकै चर्चित आर्किटाइजर ए प्लस अवार्डको आतिथ्यता विधाको उपाधि हासिल गरेको छ । 

बिल्डिङ ब्युरोले डिजाइन गरेको इको लजले स्थानीय थारू वास्तुकला, दिगो पर्यटन, पर्यावरणमैत्री सामग्री र स्थानीय स्रोत साधनको प्रयोग गर्ने गरी संरचना डिजाइन गरेको थियो । यसरी डिजाइन गरिएको इको लज सन् २०२६ मा बनेको हो  । चार हजार २५० वर्गफिट क्षेत्रफलमा फैलिएको लज बनाउन  कंक्रिटको सट्टा र्याम्ड अर्थात्  माटोको पर्खाल, भूकम्पप्रतिरोधी स्टिल रिबारको संरचना र छानामा पुराना घरहरूबाट संकलित गरेको टेराकोटा टाइल प्रयोग गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष एवं लजका सञ्चालक हेमन्त आचार्यले स्थानीय थारू समुदायको पहिचान झल्कने गरी लजको संरचना तयार गरेको बताए । 

‘लज केवल व्यावसायिक प्रयोजनका लागि मात्र नभएर लजबाट हुने आम्दानीको एक हिस्सा वन्यजन्तुपीडित एकल महिलालाई स्वरोजगार र उद्यमशीलता विकासमा  सहयोग गर्ने गरी सञ्चालनमा ल्याइएको छ,’ उनले भने, ‘मेरो बुबाको मृत्यु हात्तीको आक्रमणबाट भएको हो । त्यही भएर मैले वन्यजन्तुपीडित एकल महिलालाई सहयोग गर्न लजबाट हुने आम्दानीको  केही हिस्सा सहयोग गर्नेछु ।’ 

लजमा पर्यटकका लागि आवास, सामुदायिक केन्द्र, रिसेप्सन, भोजन कक्षको सुविधा रहेको लजका सञ्चालक आचार्यले जानकारी दिए । उनले भने, ‘लज निर्माण गर्दा कम ऊर्जा खपत हुने, स्थानीय सामग्री प्रयोग  गर्नुका साथै लज जलवायुअनुकूल  हुने गरी डिजाइन गरिएको छ । त्यही भएर पनि पछिल्लो समय धेरै पर्यटकको रोजाइमा लज पर्न  थालेको छ  भने  लजले नेपाली परम्परागत सिपलाई विश्वमञ्चमा चिनाउनु सफल भएको छ ।’

निकुञ्जमा पाइने  एकसिंगे गैँडा, बाघ, हात्ती, डल्फिन, घडियालजस्ता लोपोन्मुख प्रजातिका वन्यजन्तु हेर्न आउने पर्यटकको संख्यासमेत बढ्दै गएको छ ।  यसरी पर्यटक बढी रहेको समयमा खुलेको लजले पर्यटकको जित्न सफल भएको हुँदा आर्किटाइजर ए प्लस अवार्डको आतिथ्यता विद्या जित्न सफल भएको छ । आर्किटाइजर ए प्लस अवार्ड वास्तुकला र निर्माणसँग  सम्बन्धित अवार्ड हो । यसको आयोजना  संयुक्त राज्य अमेरिकामा रहेको संस्थाले  गर्छ।
 

सुझावित समाचार