नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकेको समयसीमा आज राति १२ बजे समाप्त हुने जनाएको छ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले समयसीमा सकिनुअघि छुटेका सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेका छन्। अन्तिम समयमा धेरैले एकैपटक फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले ढिलाइ नगर्न उनले अनुरोध गरेका छन्।
कांग्रेसका अनुसार अद्यावधिकका लागि योग्य सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २७ गते साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले एसिआइडी प्राप्त गरिसकेका छन् भने एक लाख २४ हजार ७४८ जनाले अनलाइन फारामसमेत पेस गरिसकेका छन्।
पार्टीले प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन प्रणाली प्रयोग गरेर सहज रूपमा सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको जनाएको छ। प्रक्रिया बुझ्न कठिनाइ भए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिन पनि आग्रह गरिएको छ।
कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यले अनलाइन अद्यावधिक अभियान सञ्चालन गरेको हो। पार्टीका अनुसार यस अभियानले सदस्यहरूको वास्तविक विवरण अभिलेखीकरण गर्न मद्दत गर्नेछ।
केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले विगतमा अरूले फाराम भरिदिँदा सदस्य संख्यामा अस्वाभाविक वृद्धि देखिने गरेको उल्लेख गर्दै अहिले स्वयं सदस्यले अनलाइन माध्यमबाट विवरण भरेकाले वास्तविक तथ्यांक देखिन थालेको बताएका छन्।
उनका अनुसार तोकिएको समयभित्र सदस्यता अद्यावधिक गर्ने क्रियाशील सदस्य मात्र कांग्रेसको आगामी १५औँ महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्।